लालबन्दी – आज सर्लाहीसहित देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइएको छ ।
यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । सर्लाहीका थारु समुदायले ईश्वरपुर नगरपालिका–१०, बेला खैरामा आयोजना गरेको आठौँ तिला संक्रान्ती माघी महोत्सव २०८० आज सकिएको छ ।
थारु समुदायको महानपर्व माघी तथा थारु सम्वत् २६४७ को अवसरमा आयोजित महोत्सव सम्मान तथा साँस्कृतिक कार्यक्रम गरी आज समापन गर्न लागिएको आयोजक थारु कल्याणकारिणी सभा जिल्ला कार्य समितिका अध्यक्ष सूर्यनारायण चौधरीले बताए ।
यस्तै, मगर समुदायले पनि माघीलाई मुख्य चाडको रूपमा मनाउँछन् । सर्लाहीका मगर समुदायले लालबन्दी ९ बस्तीपुर चौर र बरहथवा नगरपालिका २ हजरियास्थित प्रावि विद्यालयको प्राङ्गणमा मगर मौलिक साँस्कृतिक कार्यक्रम गरेका छन् ।

लालबन्दीमा नेपाल मगर संघ लालबन्दीका अध्यक्ष बेनी आले मगरको अध्यक्षता तथा मधेश प्रदेश सभा सदस्य बेची लुंगेली मगरको प्रमुख आतिथ्यता र हजरियामा स्थानीय मगर समितिका अध्यक्ष दिलबहादुर धना मगरको अध्यक्षता तथा बयोवृद्ध चित्रबहादुर आले मगरको प्रमुख आतिथ्यता, बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवालको विशिष्ठ आतिथ्यतामा कार्यक्रम गरिएको हो । दुवै ठाउँमा मगर जातिको पहिचान, भेषभुषा झल्किने झाँकी प्रदर्शनसहित साँस्कृतिक कार्यक्रम गरिएको नेपाल मगर संघ मधेश प्रदेश समितिका महासचिव तेजनारायण आले मगरले बताए ।
हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङलगायतका जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।
सरकारले आज सार्वजनिक बिदा पनि दिएको थियो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा मेला लाग्छ । यी ठाउँमा आज दर्शनार्थीको घुइँचो लाग्यो ।