मलंगवा – ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आज नवौँ राष्ट्रिय योग दिवस सर्लाहीमा पनि मनाइएको छ ।

जिल्ला समन्वय समिति सर्लाहीको आयोजना, पतंजली योग समितिको सहकार्य र लक्ष्मी इन्टरप्राइजेज एण्ड जेनरल सप्लायर्सको सहयोगमा सदरमुकाम मलङ्गवामा योग दिवस मनाइएको हो । दिवसका अवसरमा आज बिहान ब्यान्डबाजासहित सदरमुकाम मलङ्गवा बजारमा प्रभातफेरि निकालिएको छ ।

नियमित योग सकाएर प्रभातफेरिसहित जिल्ला समन्वय समितिको सभा हलमा मन्तव्यको कार्यक्रम गरी योग दिवस मनाइएको योग प्रशिक्षक एवं प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुख, राजनीतिज्ञ, नागरिक समाज, महिला अगुवा, संचारकर्मी, सुरक्षाकर्मीलगायत सहभागी भएका छन् ।

पछिल्लो योग, ध्यान र प्रणायाममा नेपालीहरुको पनि आकर्षण बढ्न थालेको छ । युरोप र अमेरिकामा विभिन्न रोगको उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि नेपालीहरु पनि योगतिर आकर्षित हुन थालेका हुन् ।

शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग चाहिन्छ । योगको महत्वबारे सबै नेपालीलाई थाहा दिने उद्देश्यले नेपालमा हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।