परवानीपुर – सर्लाहीमा एक सातादेखि जारी कठ्यांग्रिदो चिसो कम हुन सकेको छैन् ।
सर्लाही र यस आसपासका जिल्लाहरुमा विगत एक सातादेखि राम्रोसँग घाम लाग्न सकेको छैन् । तर सर्लाहीको उत्तरी चुरेभेगका गाउँहरुमा आज मध्यान्हपछि पारिलो घाम लाग्यो । चुरेडाँडाका गाउँहरु र चुरेपाखा तलका गाउँ घारिबथान, देउराली, परवानीपुर, पत्थरकोट, जियाजोर, अत्रौलीक्षेत्रमा मध्यान्हपछि ५ घण्टा बढी न्यानो भएर पारिलो घाम लागेको स्थानीयले बताएका हुन् ।
अपरान्हपख हाईवे क्षेत्रमा पनि मौसम केही उघ्रिए जस्तो भयो तर पारिलो घाम लाग्न सकेन । सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा दिनभर नै डप्प हुस्सु लागेर मौसम धुम्म भइरह्यो । अहिले साँझबाट जिल्लाभर नै कठ्यांग्रिदो चिसो हुन थालिसकेको छ ।
साता दिनदेखिको बाक्लो हुस्सु र तुसारोले तापक्रम बढ्न पाएको छैन् । घाम नलाग्दा अतिविपन्न, गरिबगुरुवाको दैनिकी सबैभन्दा बढी कष्टकर बनेको छ । न्याना कपडा नभएका र पराल ओछ्याएर सुत्ने विपन्न परिवारलाई चिसो छल्न असाध्य गाह्रो परेको हो । कठ्यांग्रिने गरी चिसो हुँदा बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति झनै प्रभावित बनेका छन् ।
चिकित्सकले यो चिसोमा ती व्यक्तिहरुको विशेष ख्याल गर्न, तुसारो र स्याँठ चलेको बेला घरभित्रै बस्न, सुरक्षितसँग आगो ताप्न, झोलिला र पौष्टिकयुक्त खानेकुरा खान तथा चिसोबाट जोगिने उपाय अपनाउन सुझाव दिँदै आएका छन् । चिसो छल्न मानिस घर, चोक, बजारमा आगो तापेर बसिरहेका छन् । स्थानीय पालिक र अन्य निकायले न्यानो प्रदान गर्न वास्ता गरेका छैनन् ।
तुसारो र हुस्सुले आलु, गोलभेँडा, सिमी, खुर्सानीसहित किसानले लगाएको तरकारी र बालिनालीमा ठन्डीजन्य संक्रमण बढ्न थालेको बताएका छन् । चिसोले पन्छी तथा पशुचौपाय सुरक्षित राख्न र स्याहार गर्न मुस्किल परेको किसानको भनाई छ ।
नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले हुस्सु लागेको समयमा सवारी दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानीका साथ यात्रा गर्न र सवारी साधन चलाउ आग्रह गरेको छ ।