लालबन्दी – केही दिनदेखि गोलभेँडाको मूल्य बढ्न थालेसँगै सर्लाहीका किसानलाई राहत मिलेको छ ।
यहाँका किसानले अहिले गोलभेँडा प्रतिक्रेट ३५० देखि ४०० रुपियाँसम्ममा बिक्री गरिरहेका छन् । एक क्रेटमा २५ केजी गोलभेँडा हुने भएकाले किसानले केजीको १४ देखि १६ रुपियाँसम्म पाउन थालेका छन् ।
एक साताअघिसम्म किसानले उत्पादन गरेको गोलभेँडा प्रतिक्रेट २५० देखि ३०० रुपियाँसम्ममा बिक्री हुने गरेको थियो । लालबन्दी बजारका व्यापारी मोहम्मद उस्मानले माघे सङ्क्रान्तिमा अचार तथा तरकारीका लागि गोलभेँडाको प्रयोग धेरै हुने भएकाले भाउ बढेको बताए ।
व्यापारी उस्मानका अनुसार अहिले काठमाडौँबाट पनि गोलभेँडाको माग बढ्न थालेको छ । यहाँका किसानले उत्पादन गरेको गोलभेँडाको भाउ काठमाडौँको कालिमाटी बजारमै निर्भर रहन्छ ।
उताबाट माग बढ्नासाथ यहाँ भाउ वृद्धि हुने गरेको व्यापारीले बताएका छन् । अहिलेको भाउमा गोलभेँडा बेच्दा किसानलाई केही फाइदा बस्ने लालबन्दी नगरपालिका–१२, जियाजोरका किसान बद्री बरालले बताए ।
गोलभेँडाले भाउ पाउन थालेपछि किसान खुसी छन् । हिजोआज गोलभेँडा उत्पादन हुने मुख्य याम हो ।
बारीभरी गोलभेँडा पाकेर राताम्मे भएका छन् । किसानले साइकल, मोटरसाइकल र टायरगाढामा बजारसम्म ल्याएर गोलभेँडा बिक्री गरिरहेका छन् ।
सर्लाहीमा उत्तरी भेगका रानिगन्ज, लालबन्दी, हीरापुर, जियाजोर, चन्द्रपुर, नवलपुर, डाबरी, सासापुर, घुर्कौली क्षेत्रमा व्यावसायिक रुपमा गोलभेँडा खेती हुने गरेको छ ।
किसानले लालबन्दी, नवलपुर र सासापुरस्थित तिनघरेमा लाग्ने बजारमा ल्याएर बिक्री गरेको गोलभेँडा काठमाडौँ, नारायणगढ, गौर, वीरगन्जलगायत सहरका बजारहरुमा निकासी हुने गरेको छ ।