डाबरी – सिमीले उचित मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित बनेका छन् ।
हिजोआज सिमी उत्पादन हुने मुख्ययाम हो । यहि बेला भाउ नपाउँदा किसान मर्कामा परेका हुन् ।
सर्लाहीका किसानले सिमी प्रतिकेजी १५ देखि १७ रुपियाँमा बिक्री गरिरहेका छन् । हरिवन नगरपालिका–३, डाबरीका किसान इन्दल मण्डलले यो वर्ष सिमीको भाउ नै नपाएको गुनासो गरे ।
किसानले गत वर्ष सिमी प्रतिकेजी ५० देखि ५५ रुपियाँसम्ममा बिक्री गरेका थिए तर यो वर्ष तेब्बर कम मूल्यमा बेच्नु परेको मण्डलले बताए । सर्लाहीमा उत्तरी भेगको लालबन्दी, हीरापुर, चन्द्रनगर, रानिगन्ज, नवलपुर, डाबरीलगायतका क्षेत्रमा सिमीको व्यावसायिक रुपमा खेती हुने गरेको छ ।
लालबन्दी नगरपालिका–११, हीरापुरका किसान रामदास रायले सस्तो मूल्यमा सिमी बेच्नुपर्दा सिमी टिप्ने जनलाई दिने ज्याला, औषधि र मलखादको पैसा उठाउन समेत धउधउ पर्ने बताए । एक जना जनलाई दिनभर सिमी टिपेको ६०० रुपियाँ ज्याला दिनुपर्छ ।
मूल्य सस्तो भएपनि उत्पादन भएकोे सिमी बेच्नै पर्ने बाध्यता रहेको किसानको दुःखेसो छ । किसानले फलाएको सिमी साइकल, मोटरसाइकल, र टेम्पुमा लालबन्दी बजारसम्म ल्याएर थोक व्यापारीलाई बिक्री गर्ने गरेका छन् ।
लालबन्दी बजारका थोक तरकारी व्यापारी मोहम्मद उस्मानले यो वर्ष कालिमाटीसहित देशका प्रमुख बजारहरुबाट तरकारी माग नै कम आएकाले हरेक तरकारीको मूल्य सस्तिएको बताए । आफूले अघिल्ला वर्षहरुमा यो सिजनमा दैनिक आठ सयदेखि एक हजार किलोसम्म सिमी कालिमाटी लैजाने गरेको भएपनि यो वर्ष मुस्किलले दुई सय किलो सिमी पठाइरहेको उनले बताए ।
पठाएको सिमी पनि बिक्री हुन छाडेको व्यापारी उस्मानको भनाई छ ।