राजघाट – सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ ।

आउँदै गरेको माघे संक्रान्तीलाइ लक्षित गरी जील्लाको उत्तर पश्चिम भेगमा पर्ने बागमती र बरहथवा नगरपालिकाका किसानहरुलाइ तरुल खन्न भ्याइनभ्याइ भएको हो ।.तर यसबर्ष तरुलको उचित मुल्य नपाएको किसानहरुले गुनासो गरेका छन् ।
जिल्लाको बागमती र बरहथवा नगरपालिका लगायत स्थानमा यतिबेला किसानहरु माघे संक्रातीमा अत्यधिक खपत हुने भएकाले तरुल खन्न भ्याईनभ्याई रहेको किसानहरुको भनाई छ ।

बिगत लामो समय देखी बर्षेनी ब्यवसायिक तरुल खेती गर्दै आएका बागमती नगरपालिका–५ राजघाटका शंकर मैनालीले माघे संक्रान्तीमा बिक्री गर्दा तरुलले राम्रो भाउ पाउने आशा गरे अनुसार यस बर्ष गएको बर्षको मुल्यमा प्रतिकिलो प्रतिकिलो १० रुपियाँ कमीमा बेच्न बाध्य भएका छन् ।

गत बर्ष ५० देखि ५५रुपियाँसम्म प्रति किलोमा बिक्री गरेको तरुल यसबर्ष ३५देखि ४० रुपैयामा बिक्री भएको उनको भनाई छ । किसानहरुले उत्पादन गरेको तरुल लिन ठेकेदारहरु खेतबारीमै पुगेका छन् । लामो समय देखी तरुल खेती गर्दै आएका बागमती–१० मोहन लुम्रे मगरले यस बर्ष ८ कठ्ठा जमिनमा तरुल खेती गरेका छन् ।
उनले व्यापारीलाइ प्रति कठ्ठा १० हजारमा खेतबाटै बेचेका छन् । गत बर्ष उनले १ लाख २५ हजारमा बेचेका थिए । यसबर्ष भने लागत अनुसारको खासै आम्दानी नभएको गुनासो गरे ।

माघे संक्रान्तीमा बिषेश फलारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमा समेत प्रयोग गर्न लैजाने गरेको किसानहरु बताउँछन् ।
तरुल खेती गर्दा जमिन हेरेर बिउँ, खन, जोत, खाद मल र गोडमेल समेत गरेर ७ देखी १० हजार प्रति कठ्ठा लगानी हुने किसानहरुको भनाई छ भने यस सिजनमा प्रति कठ्ठा २० देखी २५ हजार सम्म आम्दानी हुने किसानहरुले अपेक्षा गरेपनि उचित मुल्य पाएन ।.

राम्रो उत्पादन हुँदा तरुल प्रति कठ्ठा ८ देखी १० क्विन्टल सम्म उत्पादन हुने गरेको छ । यस क्षेत्रमा झुसे (पाताले) र रातो तरुलको खेती हुँदै आएको किसानहरुले बताएका छन् ।
यस बर्ष कम बर्षात भएका कारण तरुल उत्पादनमा कमी आएको किसानहरुले बताए । किसानका अनुसार यस बर्ष सरदर प्रति कठ्ठा ४ देखि ५ क्विन्टल उत्पादन भएको बताउँछन् ।

यहाँ उत्पादन भएको तरुल काठमाण्डौं,पोखरा, नारायणगढ, धनगढी, नेपालगंजलगायत देशका प्रमुख शहरहरुमा निर्यात हुने ब्यापारी हृदय राम बताउँछन् । उनका अनुसार उत्पादनमा कमी र बिगतका बर्षहरुमा जस्तो माग कम भएकोले किसानले तरुलको उचित मुल्य नपाएको बताए ।

सर्लाहीमा मात्र यस बर्ष २ सय ८५ हेक्टर क्षेत्रफलमा तरुल खेती भएको जिल्ला कृषि ज्ञानकेन्द्र मलंगवाका प्रमुख देवानन्द रायले जानकारी दिए । सर्लाहीमा प्रत्येक बर्ष ५सय टनको हाराहारीमा तरुल उत्पादन हुने गरेको छ ।
शब्द : घनश्याम बलम्पाकी
तस्बिरहरु : जनार्जन खत्री