logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण सुरु


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा आजबाट ८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण सुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी ड्रिम्स एशिया फाउण्डेसनको सहयोगमा लालबन्दी ६ स्थित राधाकृष्ण खेल मैदानमा प्रशिक्षण प्रारम्भ गरेको हो । प्रशिक्षणको आज दिउँसो जिल्ला फुटबल संघ सर्लाहीका अध्यक्ष ठाकुर बहादुर सुस्लिङ (विष्णु) को अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दावा लामाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको जिल्ला फुटबल संघ सर्लाहीका महासचिव कुलप्रसाद गौतम (शिवहरि) ले जानकारी दिए ।

प्रशिक्षणको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै एन्फाका उपाध्यक्ष लामाले ग्रासरुटमा भएको यस प्रकारको प्रशिक्षणबाट उमेर समूहका फुटबल खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा लालबन्दी नगरपालिकाक प्रमुख बासुदेव अधिकारी, लालबन्दी नगरपालिकाको खेलकुद विकास समितिका संयोजक तथा लालबन्दी १७ का वडाध्यक्ष विष्णुहरि अधिकारी, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष तथा लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापा, एन्फाका पंकजबहादुर शाहीलगायतको आतिथ्यता रहेको थियो ।

जिल्ला स्तरीय यस प्रशिक्षणमा लालबन्दी, ईश्वरपुर, हरिवन र बागमतीबाट ८ देखि १३ वर्षसम्मका महिला र पुरुष गरी फुटबल खेलप्रति रुची राख्ने ८० जना बालबालिका सहभागी छन् ।

ती बालबालिकालाई फुटबल प्रशिक्षक बेनीबहादुर कटुवाल, अर्जुन चौधरी, मिनबहादुर ब्लोन र बिक्रम लामाले प्रशिक्षण दिने जिल्ला फुटबल संघ सर्लाहीका उपाध्यक्ष विभुसिंह थापाले जानकारी दिए ।