logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सहकारीका अध्यक्ष र प्रवन्धक फरार, बचत उठाउने कर्मचारी समस्यामा


  • उज्यालो अभियान

अध्यक्ष र प्रवन्धक फरार भएपछि रुवावासी गर्दै सहकारीको कर्यालयमा आएका बचत संकलन गर्ने कर्मचारीहरु । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी  – सर्लाहीको लालबन्दी नगरपालिका–७, मा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन भएपछि बचत संकलन गर्ने कर्मचारी समस्यामा परेका छन् ।

संस्थाका अध्यक्ष झगरुप्रसाद दास र प्रवन्धक रवीना रायमाझी गएको सोमबारदेखि सम्पर्कविहीन भएका हुन् । संस्थाका अध्यक्ष र प्रवन्धक भागेको खबर फैलिएपछि बचतकर्ता रकम माग गर्दै आफूहरु कहाँ आउन थालेपछि बचत संकलन गर्ने कर्मचारीहरु भने अप्ठेरोमा परेका हुन् ।

लालबन्दी ७ मा प्रधान कार्यालय रहेको यस सहकारीले हरिवन र हरिपुरमा पनि कर्मचारी राखेर बचत उठाउँदै आएको थियो । संस्थाकी कर्मचारी तथा फिल्डमा खटिएर पैसा उठाउने काम गर्नुहुने एलिसा कुमारी लायो मगरले अध्यक्ष र प्रवन्धक ‘मोवाइल अफ’ गरेर सम्पर्कविहीन भएपछि आफूहरु समस्यामा परेको उज्यालो अभियानसँग गुनासो गरिन् । “उहाँहरु दुवै जना १६ गतेदेखि हामी कोही पनि कर्मचारीसँग सम्पर्कमा हुनुहुन्न,” मगरले भनिन् “अध्यक्ष र प्रवन्धक भागेको थाहा पाएपछि बचतकर्ताहरु बचतको रकम माग्न आइरहनु भएको छ, हामी कर्मचारीले कहाँबाट पैसा ल्याएर दिने ?” ।

संस्थाका अध्यक्ष दासले संस्थामा राखेको आफ्नो व्यक्तिगत कागजात १६ गते राति लिएर गएको सीसी टिभी फुटेजमा देखिन्छ । लालबन्दीमा फर्निचर पसल समेत गर्ने दासको १६ गतेपछि पसल खुलेको छैन् । केही प्रत्यक्षदर्शीले १६ गते राति नै दासले पसलबाट समान उठाएर लगेको देखेको बताएका छन् ।

लालबन्दीमै कोठा भाडामा लिएर बस्ने प्रवन्धक रायमाझी पनि सोही दिनदेखि बेपत्ता छिन् । अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन भएपछि अप्ठेरोमा परेका कर्मचारी रुवावासी गर्दै आज दिउँसो लालबन्दीस्थित सहकारीको कार्यालयमा जम्मा भएका थिए ।

लालबन्दी कार्यालयमा ४ जना, हरिपुरमा २ जना र हरिवनमा १ जना बचत उठाउने कर्मचारी राखेर संस्थाले व्यापारी, व्यवसायी तथा स्थानीयहरुसँग बचत उठाउँदै आएको थियो । कर्मचारीका अनुसार संस्थामा बचतकर्ताहरुको ४ करोड बढी रकम बचत छ ।

लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले केही दिनअघि संस्थाका एक जना सेवाग्राही बचत रकम लिन आउँदा पैसा नभएको बैंक खाताको चेक दिएको भन्दै गुनासो गर्न वडा कार्यालयमा आएका र संस्थामा गएर कुरा गर्दा केही दिनपछि खातामा पैसा भएको बैंकको चेक दिने सहमती गराएर फर्किएको बताए । अहिले फेरि अध्यक्ष र प्रवन्धक नै कार्यालय बन्द गरेर सम्कर्कविहीन भएको भनी कर्मचारी गुनासो गर्न आइपुगेका वडाध्यक्ष कार्कीले बताए । “बचत उठाउने कर्मचारी अध्यक्ष र प्रवन्धक भाग्नुभयो भन्दै म कहाँ आएका हुन्,” वडाध्यक्ष कार्कीले उज्यालो अभियानसँग भने, “संस्थाको कार्यालय रहेको घरका घरधनीले पनि ५÷६ महिनादेखिको घरभाडा नदिएको भनी गुनासो गर्नुभएको छ ।”

अध्यक्ष कार्कीले संस्थाका अन्य पदाधिकारी को–को हुन भन्ने केही खुल्न नसकेको बताए । “संस्थाका अरु पदाधिकारी को–को हुन भन्ने नै थाहा छैन्,” वडाध्यक्ष कार्कीले भने, “सहकारी क्षेत्रको यो एउटा जटिल समस्या देखियो, यस प्रकारको घटनामा अनुगमन र नियमन हुन सकेन भने अरु यस्ता जटिल समस्या आउने देखिन्छ ।”

लालबन्दी नगरपालिकाको सहकारी शाखाले यस सहकारी संस्था नगरपालिकाभित्र क्रियाशील रहेको भनी अहिलेसम्म कुनै रेकर्ड लिएर कोही नआएको जनाएको छ । साबिक डिभिजन सहकारी कार्यालयले सहकारी संघसंस्था हेर्ने जिम्मेवारी स्थानीय पालिकालाई दिएपछि लालबन्दी नगरपालिकाभित्रका ३८ वटा सहकारी संस्था नवीकरण गर्न आएका छन् ।

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले आफूहरु समस्यामा परेको भन्दै कर्मचारीहरु आज आफूलाई पनि भेट्न आएका सुनाए । ती कर्मचारीलाई एकमुष्टमा निवेदन लिएर आउन भनेको र यसबारेमा नगरपालिकाले पनि बुझ्ने र प्रहरीलाई अनुसन्धान गर्न भन्ने भनेर पठाएको नगरप्रमुख अधिकारीको भनाई छ ।

आज साँझ लालबन्दीमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारीसहितको एक बैठकमा आफूले यस विषय अवगत पनि गराएको मेयर अधिकारीले बताए ।