मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा प्रधान कार्यालय रहेको द सहारा लोन सेविंग्स को–आँपरेटिभ सोसाइटीको आज २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मलंगवास्थित कुसुम पार्टी पैलेसमा संस्थाका अध्यक्ष नागेन्द्रकुमार रायको अध्यक्षता तथा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभामा मधेश प्रदेशसभाका सदस्य जंगिलाल राय, कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
साधारण सभामा संस्थाले गएको आर्थिक वर्ष २०७९÷०८० मा ६ करोड १ लाख ६१ हजार २२० रुपैयाँ ३० पैसा खुद नाफा आर्जन गरेको जानकारी गराइएको छ । अध्यक्ष रायले आर्थिक मन्दी, मिटरब्याज सम्वन्धी पछिल्लो गतिविधिलगायत कारणले गत वर्षको भन्दा झण्डै ४ गुणा भन्दा बढीले संस्थाको मुनाफा घटेको जानकारी गराए ।
सभामा संस्थाले आफ्ना उत्कृष्ट सेवा केन्द्र, ऋणी, बचतकर्ता, कर्मचारीलगायत तथा राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई उनका पितामार्फत सम्मान गरेको छ ।
द सहाराको मधेश प्रदेशका आठवटै जिल्लासहित कोशी प्रदेश र बागमती प्रदेशमा समेत गरी २८ वटा सेवा केन्द्र रहेका छन् ।