logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

घरजग्गा काराेबारमा सर्लाही मुलुकमै पाचाैं जिल्ला


  • उज्यालो अभियान

सर्लाही जिल्लाकाे नक्शा ।

हरिवन, ०९ पुस – पछिल्लाे तथ्यांक अनुसार सबैभन्दा बढी घरजग्गा काराेबार हुने जिल्लाहरु मध्ये सर्लाही पाचाैं स्थानमा परेकाे छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार देशभर मंसिरमा ४१ हजार ८५१ संख्यामा घरजग्गा कारोबार भएको छ । यो सबभन्दा पछिल्लाे तथ्यांक हो ।

कारोबार संख्याको आधारमा सर्लाही पाँचौं स्थानमा छ । सर्लाहीमा मंसिरमा एक हजार ७५६ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष यही महिनामा सर्लाहीमा ८९२ संख्यामा मात्र घरजग्गा किनबेच भएको थियो ।

शिक्षा, स्वास्थ्य लगायत आवश्यक पूर्वाधार भएकाले पनि यहाँ आसपासबाट आएर जग्गा किन्नेहरूको संख्या बढेको जग्गा तथा आवास विकास संघ, सर्लाहीका अध्यक्ष शंकर शर्माले बताए । ‘सर्लाहीमा पनि पछिल्लो समय आवासीय प्रयोजनकै लागि घरजग्गाको कारोबार भइरहेको छ । लालबन्दी मधेश प्रदेशको मध्य विन्दु पनि हो,’ शर्माले भने, ‘यहाँ शिक्षा, स्वास्थ्य सुविधा राम्रो छ ।’

सबभन्दा धेरै घरजग्गा किनबेच हुने जिल्लाको पहिलो नम्बरमा मोरङ परेको छ । मोरङमा मंसिरमा दुई हजार ३८९ संख्यामा घरजग्गा किनबेच भएको छ । गत वर्ष यही अवधिमा मोरङमा एक हजार ८२० संख्यामा मात्र कारोबार भएको थियो ।

औद्योगिक क्षेत्र आसपास भएकाले यहाँ भौतिक पूर्वाधार पनि पुगेका छन् । यही कारण यहाँ घरजग्गा किनबेच धेरै हुने जग्गा तथा आवास विकास संघ, झापाका अध्यक्ष राजकुमार राईले बताए । ‘झापा, मोरङ, सुनसरी औद्योगिक क्षेत्र भनेर चिनिन्छन् । अहिले औद्योगिक प्रयोजनका लागि घरजग्गा किनबेच धेरै नभए पनि आवासीय प्रयोजनका लागि कारोबार भइरहेको छ ।,’ उनले भने । तर विगतको तुलनामा कारोबारमा शिथिलता आएको उनको भनाइ छ ।

घरजग्गा व्यवसायीहरूका अनुसार यीमध्ये कतिपय ठाउँमा जग्गा किनेर केही समय राख्ने र बेच्ने सोचले खरिदबिक्री भइरहेको छ । कतिपय ठाउँमा भने बसाइसराइ बढिरहेकोले कारोबार वृद्धि भएको हो ।

अहिले कारोबारको आधारमा दोस्रो स्थानमा झापा जिल्ला परेको छ । मंसिरमा यहाँ दुई हजार २९४ संख्यामा घरजग्गाको कारोबार भएको छ । गत वर्ष यही महिनामा झापामा एक हजार २७१ संख्यामा मात्रै घरजग्गा किनबेच भएको थियो ।

व्यवसायीहरूका अनुसार झापा, मोरङ र सुनसरी जस्ता जिल्लामा आसपासका पहाडी क्षेत्रबाट बसाइँसराइ धेरै हुन् । यहाँ इलाम, पाँचथर, तेह्रथुम र धनकुटा लगायत पहाडी जिल्लाबाट बसाइँ सरेर आउने प्रवृत्ति छ। त्यसैले यी क्षेत्रमा जग्गा किनेर मूल्य बढेपछि बिक्री गर्ने सोचले भन्दा पनि घर बनाउने उद्देश्यले किनबेच भइरहेको छ ।

धेरै घरजग्गा कारोबार हुने तेस्रो जिल्ला दाङ हो । मंसिरमा यहाँ दुई हजार १८३ संख्यामा घरजग्गा किनबेच भएको छ । गत वर्ष मंसिरमा यहाँ एक हजार ६६१ संख्यामा मात्रै घरजग्गा किनबेच भएको थियो ।

यो क्षेत्रमा पनि बसोबासको उद्देश्यले नै घरजग्गा कारोबार हुने गरेको जग्गा तथा आवास विकास संघ, दाङका अध्यक्ष श्रीधर मोहरा क्षेत्रीले बताए । ‘जिल्लाकै ग्रामीण भेगमा रहेका स्थानीयहरू छोराछोरी पढाउन यहाँका सहरी क्षेत्रमा बसाइ सर्ने गरेका छन्,’ उनले भने, ‘यसले गर्दा घरजग्गा किनबेच भइरहन्छ ।’ दाङ लुम्बिनी प्रदेशको राजधानी भएकाले पनि यहाँ घरजग्गा कारोबार बढेको अनुमान व्यवसायीहरूको छ ।

त्यस्तै सुनसरीमा मंसिरमा एक हजार ८६३ संख्यामा कारोबार भएको छ । यो कारोबार संख्याको आधारमा चौथो प्रमुख जिल्ला हो । यहाँ गत मंसिरमा एक हजार ६१८ संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो ।

अन्य सहरका तुलनामा यो मूल्य सस्तो भएकाले पनि धेरैको आकर्षण रहेको यी क्षेत्रका घरजग्गा व्यवसायीहरू बताउँछन् । पछिल्ला दुई वर्ष घरजग्गा कारोबार सुस्ताए पनि अहिले यसमा सुधारको संकेत देखिँदैछ । बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लगेसँगै घरजग्गा कारोबार चलायमान हुन थालेको हो ।

सेताेपाटीबाट