रानिगन्ज – लालबन्दी नगरपालिका–१७, रानिगन्जमा कृषि उपज बजार राख्न समिति बनाइएको छ ।
आइतबार भएको छलफलबाट रामबहादुर खड्का अध्यक्ष रहने गरी रानिगन्ज कृषि बजार व्यवस्थापन समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा दीपेन्द्र थापा, सचिवमा घनश्याम देवकोटा, कोषाध्यक्षमा ब्यासकुमार हेन्जनसहित अन्य सदस्य रहेका छन् ।
त्यस्तै, छलफलबाट भिमबहादुर पौडेल संयोजक रहने गरी सल्लाहकार समिति र जनकराज पौडेल संयोजक रहने गरी अनुगमन समिति समेत गठन गरिएको नेपाली कांग्रेस लालबन्दी १७ का वडा सभापति विभुसिंह थापाले जानकारी दिए ।
रानिगन्जस्थित राजमार्गसँगै सटिएको देवता महाकाली गुठीको ४ बिघा जग्गामा बजार बसाल्ने तयारी छ । तरकारी बजार राख्नका लागि यो वर्ष नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट समेत गरी ७९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन भएको वडाध्यक्ष विष्णुहरि अधिकारीले बताएका छन् ।
कृषि उपज बजार राख्ने विषयमा एक महिनाअघि सर्लाही क्षेत्र नं. १ का संघीय सांसद रामप्रकाश चौधरी, प्रदेश सभा सदस्य बेची लुंगेली, नगर उपप्रमुख कल्पनामाया पाख्रिन, वडाध्यक्ष अधिकारीसहित बृहत छलफल भएको थियो ।
रानिगन्जमा बजार बसेपछि रानिगन्ज, परवानीपुर, कालिन्जोर, ईश्वरपुर, श्रीनगरलगायत सर्लाहीको उत्तरी भेगका किसानलाई तरकारी तथा अन्य कृषि उपज बिक्री गर्न सहज हुने अपेक्षा गरिएको छ ।