logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दुध बिक्रीको प्रवन्ध मिलाइदिन माग


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीका दुध उत्पादक सहकारी संस्थाले किसानबाट सङ्कलन गरेर ल्याइएको दुध बिक्रीको प्रवन्ध मिलाइदिन माग गरेका छन् ।

आज लालबन्दीमा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित दुध एवं डेरी सम्वन्धी नीतिगत व्यवस्थाबारे अन्तक्र्रियामा सहभागी जिल्लाका दुग्ध उत्पादक सहकारी संस्थाका पदाधिकारीले दुध बिक्री नहुँदा किसानलाई भुक्तानी दिन नसकिएको र अहिले दुध नै उठाउनै नसक्ने अवस्था आएको गुनासो पोखेका हुन् ।

जिल्ला दुग्ध उत्पादन तथा प्रशोधन सहकारी सङ्घका अध्यक्ष लक्ष्मण पौडेलले पछिल्ला दिनमा दुध बिक्री नहुँदा किसान तथा दुग्ध उत्पादक सहकारी संस्थाका पदाधिकारीले आत्मदाह नै गर्नुपर्ने अवस्था आएको दुःखेसो पोखेका छन् । उनले पन्चायत कालमा खुलेका दुग्ध विकास संस्था (डिडिसी) का दुध सङ्कलन केन्द्रले अहिले ठूलो मात्रामा उत्पादन भएको दुध उठाउन सक्ने क्षमता नै नराख्ने र किसानको दुध बिक्री नभएर जताततै छताछुल्ल भएको गुनासो गरेका छन् ।

सर्लाहीमा मात्रै दैनिक ९५ हजार लिटर दुध उत्पादन हुने गरेको भएपनि त्यसले बजार पाउन नसकेको दुग्ध उत्पादक सहकारीका पदाधिकारीले बताएका छन् । किसानले भोकैप्यासै गरेर गाई, भैँसी पालेर दुध उत्पादन गर्ने तर बिक्री नभएर तथा बिक्री गरेको दुधको पैसा नपाएर छटपटाइ रहेका बेला सरकारले कुनै वास्ता नगरेको उनीहरुको गुनासो छ ।

प्रदेश सरकारका मन्त्री न्यौपानेले किसानको समस्या समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । किसानको उत्पादनले बजार तथा मूल्य नपाएसम्म देश समृद्ध बन्न नसक्ने उनले बताए ।

उनले दुधलाई प्रशोधन गरेर अन्य उत्पादन तयार गर्नका लागि तथा त्यसको बजारीकरणका लागि प्रदेश सरकारको बलबुताले भ्याएसम्म काम गर्ने बताए ।

कार्यक्रममा सर्लाहीका विभिन्न दुध उत्पादक सहकारीका पदाधिकारी तथा कर्मचारी, जनप्रतिनिधिलगायत सहभागी भएका जिल्ला दुग्ध उत्पादन तथा प्रशोधन सहकारी सङ्घका सचिव तिलकबहादुर खड्काले जानकारी दिए ।