हरिवन – सर्लाहीका उखु किसानले आज (बिहीबार) बाट आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
उखु किसान संयुक्त सङ्घर्ष समितिको आज बसेको बैठकले जिल्ला केन्द्रित आन्दोलन स्थगित गरी काठमाडौँमा गएर दबाब दिने निर्णय गरेको छ । मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले अन्य जिल्लाका उखु किसानका प्रतिनिधिसँग पनि समन्वय गरी अब काठमाडौँमै गएर आन्दोलन गर्ने निर्णय गरी जिल्लाको आन्दोलन आजैबाट रोकिएको उज्यालो अभियानलाई जानकारी दिए ।
उनले काठमाडौँमा सांसदहरुसहित सम्वद्ध मन्त्रालयमा डेलिगेसन जाने र यदि त्यसो गर्दा पनि माग सम्वोधन नभए माइतीघर मण्डलामा धर्नामा बस्ने निर्णय गरिएको बताए । सरकारले हिजो मात्रै उखुको मूल्य प्रतिक्विन्टल सरकारी अनुदान ७० रुपियाँसहित ६३५ रुपियाँ तोकेको थियो ।
सर्लाहीका उखु किसानले यो मूल्य स्वीकार गरेका छैनन् । चिनीमा वृद्धि भएको मूल्यलाई आधार मानेर उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न उखु किसानले माग गरेका छन् ।
उखु किसान संयुक्त सङ्घर्ष समितिले आज साँझ प्रेस विज्ञप्ती जारी गर्दै घोषित अनुदानको रकम उखु किसानले उखु बेचेको कति समयमा पाउने भन्ने सुनिश्चितता गर्न माग गरेको छ ।
सरकारले उखुको मूल्य तोक्दा अनुदान रकम तोकेपनि वर्ष दिन बित्दा समेत अनुदान रकम नपाउने गरेको भन्दै उखु किसानले आन्दोलन गर्दै आइरहेका छन् ।
उखु किसानले आन्दोलन स्थगित गरेसँगै देशकै सबैभन्दा ठूलो इन्दुशङ्कर चिनी हरिवनले अब भोलीबाटै उखु क्रसिङ सुरु गर्ने भएको छ । इन्दुशङ्करले किसानलाई उखु ल्याउनका लागि यसअघि नै चलान वितरण गरिसकेको छ ।
चिनी मिल सन्चालन हुन ढिलाई हुँदा उखु किसानको खेतमै उखु सुकेर गइरहेको थियो ।