logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विवाहपञ्चमीको डोला यात्रामा हिन्दु–मुस्लिम दुवै सहभागी (तस्बीरहरु)


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा आज (आइतबार) सीताराम विवाहपञ्चमी अन्तर्गत डोला यात्रा हर्षोल्लासपूर्वक सम्पन्न गरिएको छ ।

डोला यात्राको नगर परिक्रममा हिन्दु र मुस्लिम दुवै समुदाय सहभागी भएका छन् । केही समयदेखि दुई फरक समुदायबीच विवाद हुँदा बेलाबेलामा तनाव सिर्जना हुने गरेको मलंगवामा आज भने फरक दृश्य देखियो ।

हिन्दु र मुस्लिम दुवै समुदायको उपस्थितिमा सौहार्दपूर्ण किसिमले विवाहपञ्चमीको डोला यात्रा निकालिएको हो । मलंगवा नगरपालिका–८ का वडाध्यक्ष मुकेश जैसवालले डोला यात्रामा हिन्दु, मुस्लिम दुवै समुदायको सहभागिताले अत्यन्त सकारात्मक सन्देश प्रवाह भएको जानकारी दिए ।

यात्रामा जिल्लाका जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी, दुवै समुदायका अगुवा र स्थानीय वासिन्दा सहभागी भए । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आजको कार्यक्रमले सामाजिक सौर्हादता र सामाजिक सद्भावको नमूना प्रस्तुत गरेको उज्यालो अभियानसँग बताए ।

यो कार्यक्रमबाट दुई समुदायबीचको खाडल मेटिँदै गएको आभास भएको सीडीओ धमलाको भनाई छ । डोला यात्राका लागि प्रशासनको तर्फबाट आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको र सोचे भन्दा निकै उत्साहपूर्ण र शान्तिपूर्वक रुपले दुवै समुदाय भएकाले खुसी लागेको प्रजिअ धमलाले बताए ।

उता जनकपुरमा सीताराम विवाहपञ्चमीअन्तर्गत बाह्रबिघा रंगभूमिमा आज स्वयम्बर सम्पन भएको छ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् ।

विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आइतबार सार्वजनिक बिदा दिइएको थियो । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेतायुगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा धुमधामले विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

(तस्बिरहरु : सामाजिक सन्जालबाट साभार)