इन्दुशंकर चिनी उद्योगमा ल्याएको उखु टायरगाढाबाट झार्दै गरेका किसान । (तस्बीर : उज्यालो अभियान)
हरिवन – उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन नगरिदिन किसानले आग्रह गरेपछि हरिवनको चिनी उद्योगले उखु क्रसिङ रोकेको छ ।
इन्दुशङ्कर चिनी उद्योग हरिवनले तत्कालका लागि उखु क्रसिङ कार्य स्थगित गरेको हो । उद्योगले आज/भोलीमै उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेको थियो ।
इन्दुशङ्कर चिनी उद्योगका उखु प्रवन्धक योगनारायण रजकले उखु किसानका सङ्घसङ्गठनले तत्काल उखु क्रसिङ नगर्न भनी ज्ञापन पत्र बुझाएका जानकारी दिए । उद्योगले किसानलाई उखु काट्ने चलान (अनुमति पत्र) बाँड्न पनि सुरु गरिसकेको थियो ।
चलान बाँडेपछि उद्योगमा दुई हजार क्विन्टल तथा विभिन्न स्थानका काँटामा पाँच हजार क्विन्टल बढी उखु जम्मा भइसकेको उखु प्रवन्धक रजकले बताए । ती उखु अब डम्पिङ गरेर राखिने उखु प्रवन्धक रजकले उज्यालोसँग बताए ।
उनले अन्य किसानलाई तत्काल उखु नकाट्न सूचारु गरिसकिएको र उखु उत्पादन महासङ्घले अर्को निर्णय नदिएसम्म उखु क्रसिङ स्थगित गर्ने बताए ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखुको मूल्य निर्धारण नभएसम्म मिल सञ्चालन नगरिदिन आग्रह गरी हिजो ज्ञापन पत्र बुझाइएको बताए । उनले आफूहरु आजै महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौलमा पनि पुगेर मूल्य तय नहुन्जेल मिल नचलाईदिन आग्रह गरेर फर्किएको बताए ।