logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

दुध उत्पादन तथा संकलन गर्ने सहकारीको समिति


  • उज्यालो अभियान

लालबन्दी – पछिल्ला दिनमा खरिद, बिक्रीमा समस्या देखिन थालेपछि सर्लाहीका दुध उत्पादन तथा संकलन गर्ने सहकारीको समिति बनाइएको छ ।

शनिबार जिल्लाका दुध उत्पादन तथा संकलन गर्ने सहकारीका पदाधिकारी तथा सहकारी अभियन्ताहरु लालबन्दीस्थित थोक तरकारी बजारको सभा हलमा बैठक बसेर समिति बनाइएको हो । जिल्लाका पुराना राजनीतिज्ञ लक्ष्मण पौडेल अध्यक्ष रहने गरी गठित समितिमा मीना कुमारी स्याङतान उपाध्यक्ष, तिलकबहादुर खड्का सचिव, मन्जु चौधरी र जगदीश महतो कोइरी सदस्य रहेका छन् ।

त्यस्तै, सल्लाहकार समितिमा अच्यूतम काफ्ले संयोजक तथा मानबहादुर खड्का र नवीन राय यादव सदस्य रहेका छन् । समितिले दुध उत्पादन तथा खरिद, बिक्रीको समस्या समाधानसँगै यस क्षेत्रमा दुध खेर जान नदिन पाउडर प्लान्ट निर्माणका लागि पहल गर्ने निर्णय गरेको नवगठित समितिका सचिव एवं हाम्रो कृषि सहकारी संस्था पटौनाका अध्यक्ष तिलकबहादुर खड्काले जानकारी दिए ।

अहिले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले दुध संकलन गर्ने सहकारी तथा डेरीलाई महिनौँदेखि पैसा नदिएको र त्यसकै असरले किसानले पनि पैसा पाउन सकेका छैनन् ।