logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

इन्दुशंकर चिनी उद्योग संचालनका लागि डोङ्गा पूजा, ३५ लाख क्विन्टल उखु पेल्ने लक्ष्य


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु क्रसिङ सुरु गर्न आज (बिहीबार) डोङ्गा पूजा गरेको छ ।

उखु क्रसिङ सुरु गर्नुअघि वर्षेनि प्रत्येक चिनी उद्योगमा डोङ्गा पूजा गरिन्छ । इन्दुशङ्करका उखु प्रवन्धक योगनारायण रजकले यो वर्ष उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको जानकारी उज्यालो अभियानसँग बताए ।

उद्योगले भोलीदेखि किसानलाई चलान अर्थात् उखु ल्याउने अनुमति पत्र बाँडेर मङ्सिर २६ गतेदेखि उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेको हो । यो उद्योगले गएको वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकोमा २८ लाख २० हजार क्विन्टल मात्रै उखु क्रसिङ गरेको थियो ।

चिनी उद्योगले गरेको उखु खेतीको सर्भेमा गत वर्षकै हाराहारीमा खेती भएको पाइए पनि यो वर्ष होचोँ जग्गामा उखु उत्पादन राम्रो भएकाले १० देखि १५ प्रतिसतसम्म उखुको उत्पादन बढेको पाइएकाले उद्योगले क्रसिङको लक्ष्य बढाएको उखु प्रवन्धक रजकले बताए ।

आगामी चैतको दोस्रो सातासम्म उद्योग सञ्चालनको लक्ष्यसहित उखु क्रसिङ गरिने इन्दुशङ्करले जनाएको छ । इन्दुशङ्करले गएको वर्ष किसानलाई दिनुपर्ने सम्पूर्ण भुक्तानि दिइसकेको छ ।

सरकारले यो वर्षका लागि उखुको मूल्य भने तय गरेको छैन् । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले गएको आइतबार कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले गत वर्षको भन्दा ११ रुपैयाँ मूल्य बढाउने बताएपनि आफूहरुले नमानेको बताए ।

डोङ्गा पूजास्थलमै भेटिएका मैनालीले उखुको मूल्य र उद्योगलाई उखु दिनेबारे आज र भोली अब यहीँ किसानबीच छलफल गर्ने बताए । एक टायर उखु लिएर डोंगा पूजामा आएका हरिवन नगरपालिका ५ घुर्कौली कुशवाह टोलका किसान रामचरित्र सिंहले गत वर्षकै सरकारी अनुदान रकम पूरा नपाएको दुःखेसो पोखे ।