पिडारी – सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा रहेको साना किसान कृषि सहकारी संस्थाको आज (शनिबार) २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष श्रीनारायण राय यादवको अध्यक्षता तथा हरिपुर नगरपालिका–९ का वडाध्यक्ष विश्वनाथ रायको प्रमुख आतिथ्यतामा पिडारीस्थित रामलगन माध्यमिक विद्यालयको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको हो । संस्थाका प्रवन्धक सुदिष्ठ नारायण ठाकुरले संचालन गरेका कार्यक्रममा हरिपुर नगरपालिका १ का वडाध्यक्ष नानीबाबु थापा, साना किसान कृषि सहकारी संस्था गोडैताका अध्यक्ष विनय कुमार झा, साना किसान हरिपुरका अध्यक्ष राजदेव चौधरी, साना किसान शंकरपुरका कोषाध्यक्ष भुवन निरौला, समाजसेवी तथा बालगोविन्द जनता माविका प्रधानाध्यापक बद्रीनारायण मिश्रसहित कौडेना, लक्ष्मीपुर, भेल्हीस्थित साना किसानका अध्यक्ष, संचालक र कर्मचारीहरुको समेत आतिथ्यता रहेको थियो ।
संस्थाले गएको आर्थिक वर्ष २०७९÷०८० मा ३० करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको कारोवार गरी १ करोड ३४ लाख ६६ हजार २ सय ७९ रुपैयाँ ५८ पैसा खुद मुनाफा आर्जन गरेको संस्थाका प्रवन्धक ठाकुरले जानकारी दिएका छन् ।
साना किसान कृषि सहकारी संस्था पिडारीले हरिपुर नगरपालिकाको १ र ९ नम्बर वडा, कविलासी नगरपालिकाको १,२,४,५ र बरहथवा नगरपालिकाको वडा नम्बर १६ लाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । संस्थामा ५ सय ३६ महिला सदस्य तथा पुरुष ५ सय ४८ गरी १ हजार ८४ सदस्य रहेका प्रवन्धक ठाकुरले बताए ।