हजरिया – बसनियाँ यूवा क्लब ईश्वरपुरले हजरियामा आयोजित जिल्ला स्तरीय नकआउट भलिबल प्रतियोगिता–२०८० को उपाधि जितेको छ ।
आयोजक सहनी यूवा क्लब हजरियालाई लगातार ३–० को सोझो सेटमा पराजित गर्दै बसनियाँले उपाधि रक्षा गरेको हो । बसनियाँले सहनी यूवा क्लबलाई २५–२२, २५–१८ र २५–१५ को सेटमा पराजित गर्यो ।
प्रतियोगिताको बिजेता बसनियाँले नगद १५ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । उपबिजेता सहनी यूवा क्लबले भने सात हजार रुपियाँमा चित्त बुझाउनु पर्यो ।
प्रतियोगिताको बिजेता, उपबिजेता र विधागत उत्कृष्ट खेलाडीलाई सर्लाही क्षेत्र नं. ३ का सङ्घीय सांसद एवं निवर्तमान रक्षामन्त्री हरिप्रसाद उप्रेती, बरहथवा नगरपालिका–१ का वडाध्यक्ष राकेश सहनी, स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र सहनीलगायत भएर पुरस्कार वितरण गरेका छन् ।
सहनी यूवा क्लबले बरहथवा नगरपालिका–१, हजरिया सहनी टोलमा आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगितामा १४ वटा क्लबले सहभागिता जनाएका आयोजक क्लबका खेलाडी अजय सहनीले जानकारी दिए ।