जब्दी – प्रमुख चाडपर्व सकिएसँगै सर्लाहीका किसान अहिले धान भित्र्याउन ब्यस्त छन् ।
प्रत्येक फाँटका किसानलाई धान काट्ने, बोझा बाँध्ने र थे्रसर लगाउने चटारो परेको हो । जिल्लामा यो वर्ष धान उत्पादनमा भने कमी आएको छ ।
आकाशे वर्षा कम हुँदा धान उत्पादनमा गिरावट आएको हो । मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानी तथा आफ्नो हैरानी अनुसार धान उत्पादन राम्रो नहुँदा जिल्लाका किसान चिन्तित बनेका छन् ।
चन्द्रनगर गाउँपालिका–३, गेरुका टोलका किसान विनोद साहले छ कठ्ठामा लगाएको धान बालीमा सिँचाईका लागि मात्रै १० हजार रुपियाँ खर्च भएको गुनासो गरे । “यो वर्ष आकाशे वर्षाले साथ नदिँदा धानको फलाई राम्रो हुन सकेन,” खेतमा धान काट्दै गर्दा भेटिएका साहले भने “छ कठ्ठामा १० हजारको त पानी मात्रै पटाएँ तर १० हजारको धान फलेको छैन् ।”
आवश्यकता अनुसार आकाशे वर्षा नहुँदा अधिकांश किसानले यो वर्ष धान बालीमा दमकल अर्थात् पप्पसेट चलाएर पानी पटाएका छन् । दमकलबाट सिँचाई गर्दा प्रतिघण्टा ३०० रुपियाँ तिनुपर्छ ।
एक कठ्ठामा पानी पटाउन कम्तीमा पनि दुई घण्टासम्म दमकल चलाउनुपर्छ । धान रोप्दा तथा रोपिसकेपछि पनि बारम्बार दमकल चलाएर पानी पटाउँदा खर्च बढेको किसानले बताएका छन् ।

पछिल्लो समय मलखाद र सिँचाईको अभावले खेती लगाउनै मुस्किल पर्न थालेको गेरुका टोलका किसान साहले गुनासो गरे । “जे जति कृषि उत्पादन गरेका छौँ, त्यो सबै किसानकै बलबुताबाट भएको हो,” साहले गुनासो पोख्दै भने, “सरकारले बेलैमा मलखाद र सिँचाईको प्रवन्ध गरिदिए किसानलाई राहत मिल्थ्यो ।”
लालबन्दी नगरपालिका–३, जब्दीका किसान रुपलाल चौधरीले यो वर्ष कम वर्षा र रोग, कीराको प्रकोपले धान उत्पादन घटेको गुनासो गरे । “पोहोर साल धेरैको पानसोना जातको धान राम्रो फलेको देखेर जब्दी फाँटका धेरैले यो वर्ष त्यहि धान रोप्यौँ तर राम्रो फलेन,” धानको बोझा बाध्दै गर्दा खेतमा भेटिएका चौधरीले भने, “यो वर्ष मेहनत र लगानी अनुसार धान उत्पादन हुन सकेन ।”
कृषि ज्ञान केन्द्र सर्लाहीले गएको वर्ष भन्दा धान खेती केही बढेपनि उत्पादन भने घटेको जनाएको छ । ज्ञान केन्द्रका प्रमुख देवानन्द राय यादवले सिँचाई सुविधा रहेको क्षेत्रमा धान उत्पादन राम्रै भएपनि आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा उत्पादन घटेको बताए ।
“पानी लाग्ने क्षेत्रमा धानको उत्पादन राम्रै देखिन्छ तर आकाशे वर्षा कम हुँदा सिँचाई सुविधा नभएको ठाउँमा धानको उत्पादन घट्यो,” रायले भने“ केही क्षेत्रमा रोग, कीराको प्रकोप पनि देखिएको छ । कार्यालयको तथ्याङ्क अनुसार सर्लाहीमा ४६ हजार ५०० हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।
जिल्लामा गत वर्ष एक लाख ६४ हजार १४५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्ष चारदेखि पाँच मनसम्म धान उत्पादन भएको खेतमा यो वर्ष दुई मन धान उत्पादन गर्न पनि समस्या परेको किसानले बताएका छन् ।