logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीका किसानले फलाएको फूलकोभीले मूल्य पाएन


  • उज्यालो अभियान

किसनपुर – फूलकोभी (काउली) ले मूल्य नपाउँदा जिल्लाका किसान चिन्तित भएका छन् ।

उत्पादनको मुख्ययाममा कोभीको मूल्य नपाउँदा जिल्लामा तरकारी खेती गर्ने किसान मारमा परेका हुन् । यहाँका किसानले फूलकोभी अहिले मुस्किलले प्रतिकेजी १५ देखि २० रुपियाँमा बिक्री गरिरहेका छन् ।

चन्द्रनगर गाउँपालिका–३, कोइरीयाही टोलका धनिपत महतोले यो वर्ष पानी नपरेर काउलीको उत्पादन धेरै भएकाले आफूजस्ता कोभी खेती गर्ने किसानले मूल्य नपाएको गुनासो गरे । यो वर्ष यही भाउ रहिरहे उत्पादन लागत उठाउन समेत मुस्किल पर्ने महतोले बताए ।

चन्द्रनगरकै अर्का किसान विनोद महतोले आफूले भर्खरै कोभी फलाउँदै गरेको र बजार भाउ नरहेको देख्दा चिन्ता लागेको बताएका छन् । महतो कोभी गोड्दै गर्दा खेतमा भेटिए ।

गोडैता नगरपालिका–२, जयपुरका किसान पृथ्वी कुशवाहाले पनि यो वर्ष कोभी खेती गर्ने किसान उचित मूल्य नपाउँदा मारमा परेको दुःखेसो गरेका छन् । जिल्लामा चन्द्रनगर, किसनपुर, रामवन, जयपुर, कौडेना, सीमरा भगवतीपुर, घुर्कौली, अत्रौली, हजरिया, बरहथवा, मूर्तियालगायत ठाउँमा व्यावसायिक रुपमा फूलकोभीको खेती हुने गरेको छ ।

यहाँका किसानले उत्पादन गरेको कोभी गाउँकै हाटबजारसहित लालबन्दी, नवलपुर, हरिपुर, गैर, मलङ्गवा, बरहथवा, बयलवासलगायत मुख्य बजारमा बिक्री हुने गरेको छ । स्थानीय बजारमा खपत भएर उभ्रिएको कोभी काठमाडौँसहित देशका विभिन्न बजारमा समेत निर्यात हुने गरेको छ ।