logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

ठूलो र असल करदातालाई सम्मान


  • उज्यालो अभियान

लालबन्दी – करदाता सेवा कार्यालय लालबन्दीले आफ्नो कार्यक्षेत्र अन्तर्गत सबैभन्दा बढी आयकर बुझाउने एक संस्था र छिटो कर बुझाउने एउटा फर्मलाई सम्मान गरेको छ ।

१२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८० को उपलक्ष्यमा कार्यालयले विगत चार वर्षदेखि सबैभन्दा बढी आयकर बुझाउने सगुन बचत तथा ऋण सहकारी संस्था हरिवन र चार वर्षदेखि नै सबैभन्दा छिटो कर बुझाउने न्यू माछामासु फ्रेस हाउस बरहथवा नगरपालिका ५ लाई सम्मान गरेको हो । सगुनलाई ठूलो करदाता र फ्रेस हाउसलाई असल करदाताका रुपमा सम्मान–पत्रसहित सम्मान गरिएको करदाता सेवा कार्यालय लालबन्दीका कार्यालय प्रमुख एवं कर अधिकृत नवीन सुवेदीले जानकारी दिए ।

सुवेदीले आज (बिहीबार) सगुन सहकारी हरिवनमै पुगेर उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोते समेतको उपस्थितिमा संस्थाका अध्यक्ष केशव ढकाल, निवर्तमान अध्यक्ष बाबुराम घिमिरे, प्रवन्धक रवीन्द्र रानालगायतलाई सम्मान–पत्र हस्तान्तरण गरेका छन् ।

यस्तै, न्यू माछामासु फ्रेस हाउसका सन्चालक मोहम्मद तौफिक साहलाई उद्योग वाणिज्य संघ बरहथवाका महासचिव अमरनाथ साहलगायतको उपस्थितिमा हिजो (बुधबार) पसलमै पुगेर कर अधिकृत सुवेदीलगायतले सम्मान–पत्र हस्तान्तरण गरेका हुन् ।

करदाताको प्रोत्साहन स्वरुप यस प्रकारको सम्मान गरिएको कर अधिकृत सुवेदीले बताए । नेपाल सरकारले हरेक वर्ष मङ्सिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाउँदै आएको छ ।

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नारासहित मनाइएको कर सप्ताहको अवसरमा कार्यालयले करदातालाई सम्मान, करसम्वन्धि सचेतना अभिवृद्धि हुने कर सामग्री प्रचारप्रसार, पर्चा वितरणसहितका काम गरेको कर अधिकृत सुवेदीको भनाई छ ।

करदाता सेवा कार्यालय लालबन्दीले लालबन्दीसहित ईश्वरपुर, हरिपुर, हरिवन, बागमती र बरहथवा नगरपालिका क्षेत्रका वासिन्दा, संघसंस्था र व्यवसायीलाई कर सम्वन्धि सेवा प्रवाह गर्दै आइरहेको छ ।