भक्तिपुर – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई आज (मंगलबार) सर्लाहीको ईश्वरपुरमा नगदसहित सम्मान गरिएको छ ।
ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले स्वर्गिय आमा अप्सरा आचार्यको स्मृतिमा स्थापना गरेका अप्सरा आचार्य फाउण्डेसनको तर्फबाट ५१ हजार १५१ रुपैयाँसहित झालाई सम्मान गरेका हुन् । ईश्वरपुर नगरपालिका २ भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित वडा स्तरीय फुटबल प्रतियोगिताको समापनको अवसरमा क्रिकेटर झालाई सम्मान गरिएको मेयर आचार्यले बताए ।
मेयर आचार्य, पूर्व मेयर मनोजकुमार देवकोटालगायत भएर नगद र सम्मान–पत्रसहित झालाई सम्मान गरेका हुन् ।
चक्रघट्टा गाउँपालिका ७ स्थायी घर भई अहिले मलंगवा नगरपालिका ८ मा बसोवास गर्ने झाले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई टी–ट्वान्टी विश्वकपमा पुर्याउन उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । झालाई यसअघि हिजो (सोमबार) मात्रै नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सदरमुकाम मलंगवामा एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको थियो ।