logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

क्रिकेटर गुल्सन झालाई पत्रकार महासंघ सर्लाहीको अभिनन्दन (तस्बीरहरु)


  • उज्यालो अभियान

मलंगवा – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई आज (सोमबार) गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ ।

नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा अलराउण्ड प्रदर्शन गरेका झालाई प्रोत्साहन स्वरुप नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सदरमुकाम मलंगवामा अभिनन्दन गरेको हो । चक्रघट्टा गाउँपालिका–७, सगरदिना स्थायी घर भएका गुल्सनको परिवार अहिले सदरमुकाम मलंगवा नगरपालिका–८, मा बसोवास गर्दै आइरहेका छन् ।

पछिल्लो पटक भएका क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देशको सान बढाउन पुर्याएको योगदानको कदर तथा थप हौसल्ला प्रदान गर्न क्रिकेटर झालाई अभिनन्दन गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए । अध्यक्ष क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोलगायत भएर जिल्ला समन्वय समितिको सभाहलमा झालाई सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले सरकारले गर्नुपर्ने अभिनन्दनको काम नेपाल पत्रकार महासंघले गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले राष्ट्रको सम्पत्तिलाई सम्मान गर्ने कार्यमा पत्रकार महासंघले नेतृत्व गरेको भन्दै खुसी व्यक्त गरेका छन् । सीडीओ धमलाले पछिल्लो समय नेपाली क्रिकेटको गति उज्यालो गन्तव्यतर्फ अगाडि बढिरहेको बताए ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले राज्यले नदेखेको विषयमा चौँथो अंगको आँखा परेको बताए । उनले सर्लाहीका गाउँ–गाउँमा गुल्सन जस्तै क्षमता भएका र सम्भावना बोकेका खेलाडी रहेका उल्लेख गर्दै ती खेलाडीलाई पनि अवसरको खाँचो औल्याँएका छन् ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहले छठलगत्तै सदरमुकाम मलंगवामा गुल्सनलाई बृहत अभिनन्दन गर्ने तयारी भइरहेको बताए । सिंहले नेपालको अब प्रमुख खेल नै क्रिकेट बन्ने आधार देखिएको बताए ।

क्रिकेटर झाले यो अभिनन्दनबाट आफूलाई थप हौसल्ला मिलेको भन्दै खुसी व्यक्त गरेका छन् ।

झालाई अभिनन्दन गर्न आयोजित कार्यक्रममा भैरवीदल गण पाँचकुमारीका गणपति सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक प्रवीण धिताल, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्षहरु विश्वनाथ ठाकुर, रोशन न्यौपाने र शंकर श्रेष्ठ, सर्लाही क्रिकेट संघका कोषाध्यक्ष तुलसी यादव, गुल्सनका पिता अखिलेश कुमार झालगायतको आतिथ्यता रहेको थियो ।