logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुर : जय नरसिंहलाई प्रथम वडा कपको उपाधि


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–२, हात्तिसार खेल मैदानमा आयोजित प्रथम वडा कप फुटबल प्रतियोगिता–२०८० को उपाधि जय नरसिंह युवा क्लबले जितेको छ ।

आज (सोमबार) सम्पन्न फाइनल खेलमा वडा नं. १ को नमोवुद्ध युवा क्लबलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै वडा नं. ४ को जय नरसिंहले उपाधि उचालेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि ट्राइब्रेकरबाट खेलको नतिजा निकालिएको आयोजक गौरीशंकर क्लबले जनाएको छ ।

प्रतियोगिताको बिजेता, उपबिजेता तथा सर्वोत्कृष्ट खेलाडीलाई हरिपुर २ का वडाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ सर्लाहीका वरिष्ठ उपाध्यक्ष निल बिक्रम थापालगायत अन्य अतिथि भएर पुरस्कार वितरण गरेका छन् । बिजेता जय नरसिंह युवा क्लबले २० हजार नगदसहित पहिलो ट्रफी र उपबिजेता नमोवुद्ध युवा क्लबले १० हजार नगदसहित दोस्रो ट्रफी प्राप्त गरेको छ ।

आजको फाइनल खेलमा बिजेता क्लबका अनिस सिंह म्यान अफ दी म्याच, बिजेता क्लबका गणेश माझी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, बिजेताकै जोगेन्द्र माझी सर्वाधिक गोलकर्ता र आयोजक गौरीशंकर क्लबका विवेक धामी उत्कृष्ट गोलरक्षक बनेका छन् । आज फाइनल खेलमा हरिपुर नगरपालिकाका मेयर गोपाल पन्जियार, विभिन्न वडाका वडाध्यक्ष, कर्मचारी, दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

गौरीशंकर क्लबको आयोजना तथा हरिपुर नगरपालिका वडा नं. २ को सहयोगमा कात्तिक ११ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरभित्रका ९ वटै वडाका विभिन्न क्लबले सहभागिता जनाएका थिए ।