logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार घटना : दोषीलाई कारवाहीको माग


  • उज्यालो अभियान

मलंगवा – नेपाली कांग्रेस सर्लाहीले पार्टीका नेता एवं कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव (बब्लु) माथि गोली प्रहार भएको घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

पार्टीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले शनिबार विज्ञप्ती जारी गर्दै पार्टीका युवा नेता तथा गाउँपालिकाका जननिर्वाचित अध्यक्ष यादवमाथि गोली प्रहार भएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।

गाउँपालिका अध्यक्ष यादवलाई लक्षित गरी गएको मङ्गलवार राति आफ्नै घरमा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । गोलीको छर्राले लागेर कौडेना गाउँपालिका–२, ईनर्वास्थित यादवको घरको भित्तामा प्वाल परेको छ ।

कांग्रेसका जिल्ला सभापति सिंहले जारी गर्नुभएको विज्ञप्तीमा ‘जनप्रतिनिधिमाथि ज्यान मार्ने उद्देश्यले भएको घटना लोकतन्त्र विरोधी, अपराधिक मानसिकताको उपज हो । यस्तो घटनाको घोर निन्दा गर्दै गोली प्रहार गर्ने÷गराउने जो सुकै भएपनि तुरुन्त पत्ता लगाई दोषीलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा सजाय गराउन हुन प्रशासन तथा सरकार समक्ष जोड माग गर्दछौँ’ भनिएको छ ।

यसअघि कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय समितिले पनि शुक्रबार मात्रै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापन पत्र बुझाई घटनाका दोषी तत्काल पहिचान गरी कडा कारवाही गर्न माग गरेको थियो ।

सर्लाही प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुको नेतृत्वमा छानविन समिति बनाएर यस घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।