हरिवन – जिल्लाका उखु किसानले दशैँमा पनि उखुको अनुदान रकम नपाएपछि आज (शुक्रबार) हरिवनमा प्रदर्शन गरेका छन् ।
बर्षेनि दशैँछेका पारेर किसानलाई उखुको अनुदान रकम उपलब्ध गराइन्थ्यो । तर, यो वर्ष भने दशैँमा धरी अनुदान रकम हात नलागेपछि आक्रोशित किसानले हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा भेला भएर प्रदर्शन गरेका हुन् ।
मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले आज साङ्केतिक आन्दोलन गरिएको र दशैँपछि कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । किसानलाई कति दुःख र समस्या छ ? भन्ने कुरा सरकारले बुझ्दै नबुझेको उप्रेतीले गुनासो गरे । उनका अनुसार सङ्घीय सरकारले असोज २५ गतेसम्म जिल्लामा रकम पठाउने आश्वासन दिएको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलिनिका) मलङ्गवाका कोष नियन्त्रक पुरुषोत्तम बरालका अनुसार सर्लाहीका लागि प्राप्त हुनुपर्ने २९ करोड २५ लाख ५२ हजार ७४९ रुपियाँ ०३ पैसामध्ये हिजो भर्खर नौ करोड रुपियाँ मात्रै प्राप्त भएको छ । दशैँ लगत्तै बाँकी रकम निकासा भए कार्यालयले गर्नुपर्ने काम पूरा गरी तीहारअघि किसानको खातामा पैसा पठाउन सम्भव हुने कोष नियन्त्रक बरालले बताए ।
सरकारले गएको वर्ष क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ निर्धारण गरेकोमा चिनी उद्योगले ५४० रुपियाँ भुक्तानी गर्ने र बाँकी ७० रुपियाँ सरकारले अनुदान बापत उपलब्ध गराउने उल्लेख छ । दशैँ भित्रिएको र यही बेला नयाँ उखु रोप्ने समय भएकाले सरकारबाट अनुदान रकम नपाउँदा किसान आर्थिक सङ्कटमा परेका नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।
आजबाट आन्दोलन सुरु गरेका किसानलाई स्थानीय प्रशासनले दशैँपछि अनुदान रकम उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाएपछि तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् । हरिवनमा भेला भएका जिल्लाभरका उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन मधेश प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहा, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान र अन्य जनप्रतिनिधिसहित राजनीतिक दलका नेताहरु समेत उपस्थित भए ।
मलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले दशैँ लगत्तै अनुदान रकम पाउने छाँट नदेखिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । आजको आन्दोलनमै अत्यन्त आक्रोशित भएर उपस्थित भएका किसानलाई स्थानीय प्रशासनबाट दशैँ लगत्तै अनुदान रकम उपलब्ध गराउने आश्वासन आएको भनी सम्झाइबुझाई गरी घर फर्काइएको उप्रेतीले बताए ।