मलंगवा – शुक्रबार साँझदेखि अशान्त रहेको सदरमुकाम मलंगवामा आइतबार अपरान्ह सद्भाव र्याली निकालिएको छ ।
दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलियसर्वपक्षिय बैठकले सबैलाई संयमता अपनाउन आग्रह गर्दै सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जनप्रतिनिधि, राजनीतिक दलका अगुवा, सुरक्षा अधिकारी, नागरिक समाजका अगुवालगायतको उपस्थितिमा सद्भाव र्याली निकालिएको हो ।
बैठकले भदौ २२, २३ र २४ गते भएको घटना व्यवस्थापनको सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदन बमोजिम कानूनी कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
आईतबार दिउँसाे १ बजेदेखि साँढे ३ घण्टा चलेकाे सर्वपक्षीय बैठकमा प्रदेश सभा सदस्य काैशल किशाेर राय, मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद राय, जिल्ला समन्वय समिमतिका पूर्व प्रमुख मेथुर चाैधरी, मलंगवाका पूर्व मेयर निरसल साह, प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादव, प्रमुख सेनानी सूर्य बहादुर कार्की, प्रहरी उपरीक्षक नरेश राज सुवेदी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्ताेष ढुंगेल, सशस्त्र प्रहरी नायब उपरीक्षक उद्वव वन, डा. अब्दुल रहिम मिकरानी, समिमबाबु पठान लगायत मुस्लिम समुदायका अगुवाहरु, भगवान मिश्र लगायत हिन्दु समुदायका अगुवाहरु, मलंगवा नपाका वडाध्यक्षहरु, संचारकर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।
बैठक सकिएलगतै सबैकाे उपस्थितीमा सद्भाव र्याली निकालिएकाे र झडप स्थलहरुमा पुगेर हिन्दु-मुस्लिम समुदायका अगुवाहरुद्वारा सद्भाव मन्त्व्य प्रस्तुत गरिएकाे प्रजिअ यादवले बताए । दुई दिनदेखि अशान्त बनेकाे सदरमुकाम मलंगवाकाे स्थिती साम्य बनाउन र आईतबार दिउँसाेकाे बैठकका लागि प्रदेश सभा सदस्य काैशल किशाेर रायले विशेष सकृयता देखाएका थिए । बैठकका सहभागिले सदरमुकाम मलंगवामा जिल्ला बाहिरका व्यक्तिहरु आएर अराजकता फैलाउन र सद्भाव विथाेल्न खाेजेकाे भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका थिए ।
याे पनि पढ्नाेस्