मलंगवा – निजामती सेवा दिवस–२०८० को अवसरमा बिहीबार सर्लाही सदरमुकाम मलंगवामा जनप्रतिनिधि र निजामती कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूल नारासहित कभर्ड हल मलंगवामा आयोजित प्रतियोगितामा कर्मचारीले जनप्रतिनिधिलाई ८–२ गोल अन्तरले पराजित गरेका छन् । जनप्रतिनिधिको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पञ्जियार, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यसहित विभिन्न पालिकाका प्रमुख, वडाध्यक्षलगायत सहभागी भए ।

त्यस्तै निजामती कर्मचारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक नरेशराज सुवेदीसहित अन्य सुरक्षा अधिकारी, कार्यालयका प्रमुखलगायत मैदानमा उत्रिए । कर्मचारी मिलन केन्द्रले निजामती सेवा दिवसको अवसरमा तय गरेको पूर्व निर्धारित कार्यक्रम अन्तर्गत जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरिएको केन्द्रका जिल्ला संयोजक एवं नापी कार्यालय मलङ्गवाका प्रमुख नापी अधिकृत सञ्जय मानन्धरले जानकारी दिए ।
जनप्रतिनिधि र कर्मचारीबीच थप मित्रवत् र सुमधुर सम्वन्ध कायम गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटबल खेल गराइएको हो । फुटबल प्रशिक्षक अर्जुन चौधरी रेफ्री रहेका खेलमा नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले कमेन्ट्री गरे ।
निजामती सेवा दिवस–२०८० को मुख्यदिन भोली (शुक्रबार) सदरमुकाम मलंगवामा प्रभातफेरि, रक्तदान, वृक्षरोपण र सेवा निवृत्त भएका कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम राखिएको कर्मचारी मिलन केन्द्रका संयोजक मानन्धरले बताए । दिवसको पूर्वसन्ध्यामा यसअघि लालबन्दीमा रक्तदान कार्यक्रम र जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा फलफूल वितरण गरिएको थियो ।