logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

क्रिकेट टोलीलाई हरिपुर नगरपालिकाले १ लाख र कौडेना गाउँपालिकाले ५ लाख दिने


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका र कौडेना गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

सोमबार राति भएको एसिया कपमा भारतसँग पराजित भएपनि नेपाली खेलाडीले राम्रो खेलेको भन्दै प्रशंसा भइरहँदा हरिपुर नगरपालिका र कौडेना गाउँपालिकाले खेलाडीलाई प्रोत्साहन गर्ने निर्णय गरेका हुन् । हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियारले मंगलबार एक सूचना जारी गरी एशिया कप जस्तो ऐतिहासिक क्रिकेट प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरी प्रतिस्पर्धा गरिरहेका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको खुशीयालीमा नगरपालिकाका खेलाडीहरु तथा नेपाली क्रिकेट टिमका खेलाडीहरुको मनोबल र हौसला उच्च बढाउन नेपाली क्रिकेट टिमलाई शुभकामनासहित सम्मान स्वरुप १ लाख रुपैयाँ उपलब्ध गराउने उल्लेख गरेका छन् ।

यस्तै, कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले खेलाडीलाई प्रोत्साहन गर्न नेपाली क्रिकेट टिमलाई ५ लाख रुपैयाँ दिने निर्णय गरिएको बताए । एसिया कपमा नेपाल विश्व क्रिकेटको महारथी भारतसँग डिएलएस मेथडमा १० विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।

लगातार दोस्रो हारसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन् ।