हरिवन – उत्पादन वृद्धि गर्ने उद्देश्यसहित सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योग (मिल) ले उन्नत जातको उखुको बीउ जगाउँदै लगेको छ ।
उद्योगले अहिले २८ बिघा जग्गामा विभिन्न तीन प्रकारका उन्नत जातका उखु लगाएको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिए । रजकका अनुसार भारतबाट ल्याइएको ‘सिओ १५०२३’, ‘कस १३२३५’ र ‘कल्क १४२०१’ विरुवा उद्योगले जगाउँदै लगेको हो ।
गत वर्ष १५ कठ्ठा क्षेत्रफलमा लगाइएको यि तीन जातका उखुको बीउ यो वर्ष विस्तार गरेर २८ बिघामा फैलाइएको उखु प्रवन्धक रजकले बताए । “हामीले गत वर्षदेखि उन्नत जातको उखुको बीउ जगाउँदै लगेको छौँ, यो वर्ष अब किसानलाई समेत बाँड्ने तयारी छ,” उखु प्रवन्धक रजकले उज्यालो अभियानसँग भने, “यि जातका उखु रोप्दा उत्पादन बढेर जान्छ, यसबाट उखु किसानको आम्दानीमा वृद्धि समेत हुन्छ ।”
इन्दुशङ्करले २८ बिघामा तयार पारेको उखुको बीउ करिव एक हजार पाँच सय बिघा जग्गामा रोप्न पुग्ने बताइएको छ । उद्योगले लगाएको उन्नत जातको उखुको अहिले किसानलाई अवलोकन गराउने काम समेत भइरहेको छ ।

किसानलाई आधूनिक औजार उपकरणको प्रयोग गरी उन्नत जातको उखु लगाउन प्रोत्साहन गर्ने उद्देश्यले उद्योग आफैले उखु खेतीको अवलोकन गराइरहेको उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले बताए । “सात सय बढी किसानलाई उन्नत जातको उखु लगाउने तरिका र यि जातका उखु लगाउँदा हुने उत्पादन लगायतका विषयमा प्रष्ट पार्न उद्योगले नै खर्च बेहोरेर अवलोकन गराइरहेको छ,” प्रशासन प्रमुख नेपालले उज्यालो अभियानसँग भने ।
किसानले यसअघि तीन आँख्ला भएको उखु रोप्ने गरेका थिए । उद्योगले लगाएको उन्नत जातको उखु भने एक आँख्ला मात्रै रोप्दा पनि हुन्छ । एउटा मात्रै आख्ला रोप्दा पनि १० वटा भन्दा बढी उखु उत्पादन हुने उखु प्रवन्धक रजकले सुनाए ।
उद्योगले उन्नत जातको उखु खेती विस्तार गर्न भन्दै अवलोकनको व्यवस्था गर्दा किसानले खुुसी व्यक्त गरेका छन् । बागमती नगरपालिका–११, का किसान प्रकाशजंग पाण्डेले उद्योगले जगाउँदै लगेको उन्नत जातको उखुको बीउ अत्यन्त उपयोगी र उत्पादनको हिसाबले पनि राम्रो लागेको बताए ।
“यो अवलोकनले उखु खेतीमा नयाँ प्रविधि र तरिका जान्ने अवसर मिल्यो,” पाण्डेले भने “यि उन्नत जातका उखु चार फिटको दुरीमा रोप्दा पनि हुने, त्यसरी रोप्दा ड्याङ फराकिलो र व्यवस्थित हुने कुरा थाहा पायौँ ।” उखुको खेती घट्दा चिनी उद्योग नै सङ्कटमा पर्न थालेपछि इन्दुशङ्करले आफ्ना किसानलाई उन्नत जातको उखु खेतीको अवलोकन गराइ बीउ वितरणको तयारी गरेको छ ।