लालबन्दी – सर्लाहीको लालबन्दीस्थित कुमारी बैंकको शाखाले बुधबार अशक्त, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धालाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
यो बैंकले लालबन्दी नगरपालिकाको वडा नं. १७ का लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको छ । सोही अनुरुप बैंकमै आएर भत्ता बुझ्न असहज हुने अशक्त, अपाङ्ग र वृद्धवद्धालाई घरघरमै पुगेर गत आर्थिक वर्ष २०७९/०८० को चौंथो त्रैमासिक अर्थात् वैशाख, जेठ र असार महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बैंकका शाखा प्रवन्धक खिलनारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठकै नेतृत्वमा बैंकका कर्मचारीले घरमै पुगेर भत्ता वितरण गरेका हुन् । शाखा प्रवन्धक श्रेष्ठले बुधबार १८ जना अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता बापत ३ महिनामा प्राप्त गर्ने रकम प्रदान गरिएको बताए ।
यो बैैंकले यसअघिको त्रैमासिकमा पनि बैंकमा आउन नसक्ने अवस्थाका व्यक्तिलाई घरमै कर्मचारी पठाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । गएको वर्ष माघ ४ गते स्थापना भएको बैंकको यस शाखाले यहाँका नागरिकलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।