लखन्देही खोलामा टाउको लालबन्दी जंगलमा शरिरमात्र फेला परेका मृतक गोलु भन्ने अभिशेख राज ।
लालबन्दी – दुई दिनअघि सर्लाहीको लखन्देही पुलमुनि टाउकोमात्र फेला परेको युवकको शनिबार साँझ लालबन्दी जङ्गलमा शरीर फेला परेको छ ।
बिहीबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४, सासापुरस्थित लखदेन्ही पुलमुनि युवकको काटिएको टाउको फेला परेको थियो । युवकको सुरुमा परिचय नै खुल्न सकेन । शुक्रबार मात्रै परिवार आएर सनाखत गरेपछि मृतक भारतको सितामाढी जिल्ला अन्तर्गत मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिशेक राज रहेको खुलेको थियो ।
अभिशेकको टाउको काटिएको शरीर शनिबार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको हो । राजमार्ग छेउमै फालिएको अवस्थामा युवकको सड्न लागिसकेको शरीर फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले उज्यालो अभियानसँग बताए ।
एसपी सुवेदीले युवकको अपराधिक गिरोहबाट हत्या भएको हुन सक्ने बताए । “खोलामा टाउको र जङ्गलमा शरीर ल्याएर फालेको देख्दा युवकको पेशेवर व्यक्तिहरुबाट हत्या भएको जस्तो देखिन्छ,” एसपी सुवेदीले उज्यालो अभियानसँग भने, “हामी घटनाको सम्वन्धमा सुक्ष्म ढङ्गबाट अनुसन्धानमा जुटेको छौँ,” ।
उनका अनुसार मृतकको कम्मरदेखि तलको भागमा कुनै कपडा थिएन । माथिल्लो भागमा टिसर्ट देखिन्छ । युवकको टाउको फेला परेको लखन्देही खोला र शरीर भेटिएको लालबन्दी जङ्गल करिव छ किलोमिटर दुरीमा पर्छ ।
प्रहरी उपरीक्षक सुवेदीले युवकलाई अन्य कुनै ठाउँमा हत्या गरेर यहाँ ल्याइ बेग्लाबेग्लै स्थानमा टाउको र शरीर फालेको हुनसक्ने बताए । शनिबार शरीर फेला परेको स्थान राजमार्ग नजिकै रहेकाले त्यहाँ हत्या गर्न असम्भव देखिएको उनले बताए ।
युवकको शरीर प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । परिवारले सनाखत गरेपछि टाउको शुक्रबार दिउँसो मात्रै पोष्टमार्टमका लागि काठमाडौं पठाइएको थियो ।
परिवारका अनुसार अभिषेक अन्य साथीसँगै घुम्न भन्दै साउन २० गते सितामढीबाट सर्लाहीतर्फ आएका थिए । सँगै घुम्न आएका उनका साथीहरु अहिले सम्पर्कविहीन छन् । उनीहरुको भारतीय प्रहरीसँग समन्वय गरी खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
(पुनश्च : यसअघि प्रारम्भिक जानकारीका आधारमा शरीर फेला परेको स्थान लालबन्दी-१७ उल्लेख हुन गएकोमा क्षमाप्रार्थी छौँ)
यो पनि पढ्नोस्