एक वृद्ध महिलाालाई जग्गाधनी प्रमाण पुजा हस्तान्तरण गर्दै नापी कार्यालय प्रमुख मानन्धर । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – सर्लाहीको हरिवन नगरपालिका–७, घुर्कौली पत्थरकोठियास्थित गाउँब्लक जग्गामा बसोवास गर्ने २१ परिवारलाई आज (शुक्रबार) गाउँब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ ।
वर्षौैदेखि गाउँब्लक जग्गामा बसोवास गर्दै आइरहेका परिवारलाई नापी कार्यालय मलंगवाले आज कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । नापी कार्यालय मलंगवाका प्रमुख सन्जय मानन्धरले ३० औँ वर्षदेखि जग्गाधनी प्रमाण पुर्जाको प्रतिक्षामा रहेका स्थानीयलाई आवश्यक प्राविधिक काम पूरा गरेर जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको उज्यालो अभियानसँग बताए ।
गाउँब्लक जग्गाको लालपुर्जा पाएपछि स्थानीय वासिन्दा खुसी भएका छन् । आफ्नै नाममा पुर्जा बनेपछि अब स्थानीयले बैङ्कमा पुर्जा राखेर ऋण लिनलगायत अन्य काम गर्न पाउने छन् ।
नापी कार्यालयका प्रमुख मानन्धरले आगामी भदौ महिनाभित्र बरहथवा नगरपालिकाको लौकठ, कौडेना गाउँपालिकाको बत्रौल र पर्सा गाउँपालिकाको नारायणपुरमा एक हजार २०० परिवारलाई गाउँब्लक जग्गाधनी प्रमाण पुर्जा वितरणको तयारी भइरहेको बताए । मानन्धर कार्यालय प्रमुख भएर आएपछि यसअघि ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा करिव डेढ सय परिवारलाई यसैगरी गाउँब्लक जग्गाधनी पुर्जा वितरण गरिएको थियो ।
कार्यालय प्रमुख मानन्धर हाजिर भएदेखि नापी कार्यालय मलंगवाको सेवा सुधारमा प्रयासरत् देखिएका सदरमुकाम मलंगवा निवासी नागरिक अगुवा शिवचन्द्र चौधरीले बताए । चौधरीले अहिले कार्यालयमा पुग्दा भिडभाड कम हुने, कार्यालय पनि चिटिक्क देखिने, सेवाग्राहीका लागि टिभीको व्यवस्थासहित सुधारका काम भइरहेका पाइएको बताएका छन् ।