गिँडेकाे अवस्थामा फेला परेकाे युवककाे अनुहार प्रष्ट देखिने टाउकाे । (नाेट : यथाशिघ्र युवककाे पहिचान खुलाेस् भन्ने उद्देश्यले प्रहरीबाट प्राप्त याे फाेटाे राखिएकाे हाे ।)
हरिवन, साउन २६ – हरिवन नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुल तल गिँडिएको अवस्थामा फेला परेको पुरुषको टाउकाको गिँड भारतीय युवकको भएको आशंका सहित प्रहरीले कार्बाही प्रकृया अगाडी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा स्रोतका अनुसार भारत सितामाढीका युवकको हत्या पश्चात टाउको फालिएको हुनसक्ने आशंका सहित अनुसन्धान अगाडी बढाईएको छ । प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले वेवारिसे फेला परेको टाउको भारत सितामाढीका युवकको भएको हुन सक्ने आशंका सहित पहिचानका लागि प्रयास भईरहेको जानकारी दिए । ‘हाँमी टाउकोको पहिचानका लागि करिब–करिब नजिक पुगिसकेका हौं कि भन्ने विश्वास छ’, एसपी सुवेदीले उज्यालो अभियानसँग भने, ‘त्यसैले टाउकोलाई अहिले प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ, आशंका गरिएका युवकको परिवार र आफन्तलाई पहिचानका लागि बोलाईएको छ ।’
सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालले पोष्टमार्टम गर्न नमानेपछि प्रहरीले विहिबार साँझ नै उक्त टाउकोलाई सुरक्षीत रुपमा काठमाडौं पठाउन लागेको थियो । तर भारतीय युवक रहेको हुनसक्ने अपुष्ट जानकारी प्राप्त भएपछि उक्त टाउकोलाई पहिचानका लागि मलंगवा स्थित अस्पतालको पोष्टमार्टम कक्षमै राखिएको प्रहरीले जनाएको छ । आशंका गरिएका युवकका परिवार शुक्रबार दिउँसोसम्म मलंगवा आईसक्ने एसपी सुवेदीले उज्यालो अभियानलाई बताए । भारतबाट आउनेहरुले टाउकाको पहिचान गरे सोही अनुसार कार्बाही प्रकृया अगाडी बढाउने र नभए थप अनुसन्धानका लागि टाउकालाई शुक्रबार नै काठमाडौं पठाईने सर्लाही प्रहरीले तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा स्रोतका अनुसार ५ दिन अगाडी भारत सितामाढीका ४ जना युवकहरु सर्लाहीतर्फ आएको र हालसम्म सम्पर्कमा नरहेको भन्ने खबर प्राप्त भएपछि ती युवकहरुका परिवारलाई टाउकाको पहिचानका लागि मलंगवा बोलाईएको हो ।
हरिवन नगरपालिका–४, सासापुरको लखन्देही पुलबाट करिब ५० मिटर दक्षिण खोला किनारमा शरिरबाट घाँटीमा गिँडेर फालिएको टाउको मात्र फेला परेको थियो । विहिबार बिहान स्थानीयले देखेर खबर गरेपछि प्रहरीले जानकारी पाएको हो । अनुहार हेर्दा २०–२२ वर्षका युवक जस्तै देखिन्छ ।
यो पनि पढ्नोस्