लालबन्दी – सर्लाहीको लालबन्दीस्थित करदाता सेवा कार्यालयमा १६ महिनापछि नयाँ कार्यालय प्रमुख हाजिर भएका छन् ।
यो कार्यालय २०७८ साल फागुन २३ गतेदेखि कार्यालय प्रमुखविहीन थियो । यत्रो महिनासम्म निमित्तको भरमा कार्यालय चल्योे । आन्तरिक राजस्व विभाग काठमाडौंबाट कर अधिकृत नवीन सुवेदी बुधबार नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएका हुन् ।
२०७८ साल फागुन २३ गते तत्कालिन कार्यालय प्रमुख हरेश्वर मिश्र सरुवा भएर गएदेखि कार्यालयमा नयाँ कर अधिकृत पठाइएको थिएन् । करदाता सेवा कार्यालय लालबन्दीमा प्रायः कुनै पनि कार्यालय प्रमुख लामो समयसम्म टिकेका छैनन् ।
हरेश्वर मिश्र ५ महिना, डोरराज सुनुवार ८ महिना र हुमलाल भट्टराई २ महिनामात्रै कार्यालय प्रमुख भई बसे । यो कार्यालयले लालबन्दी, हरिवन ,हरिपुर, ईश्वरपुर, बागमती र बरहथवाका सेवाग्राहीलाई आन्तरिक राजस्व तथा कर सम्वन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।