logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पानी नपर्दा उत्तरी र पूर्वी बेल्टमा समस्या, रोपो सुक्दै


  • उज्यालो अभियान

लालबन्दी – पानी पर्न नसक्दा सर्लाहीको उत्तरी र पूर्वी बेल्टमा समस्या बढ्दै गएको छ ।

आकाशे पानीको भर रहेको यस क्षेत्रमा पानी नपर्दा रोपाइँ गर्न नपाएर अधिकांश खेत बाँझै छ । असारमा परेको पानीमा रोपिएको रोपो पनि खेत पटपट फुटेर सुक्न थालेको देखिन्छ । खडेरीले लालबन्दी, परवानिपुर, घारिबथान, बयलवास, वसन्तपुर, श्रीनगरलगायत क्षेत्रमा खेतीबाली नै प्रभावित बनेको हो ।

यस क्षेत्रमा अहिले सुत्ला च्याप्ने बेला भएको मकै बाली पनि छ । पानी नपरेर पूर्वी हावा चल्दा मकैको बोट नै सुक्न थालेको गुनासो किसानले गरेका छन् । लालबन्दी नगरपालिका–१५, फूलजोरका किसान काल्तान वाईवाले पटक–पटक पानी पर्न खोजेपनि, त्यसै पानी टरिरहेको देख्दा अचम्म नै लाग्न थालेको बताए ।

चुरेभेगमा हिजो (बिहीबार) दिउँसोपख पनि एक झमट, पानी पर्न खोजेपनि त्यसै टरेको वाईवाले बताए । पटक–पटकको आश निराशामा परिणत भई पानी कुर्दाकुर्दै बालीनाली बिग्रिसकेको वाइवाको गुनासो छ ।

चुरेपाखा पारी सिन्धुलीतर्फको भू–भागमा पानी परेपनि वारी सर्लाहीपट्टी सुक्खा छ । पूर्वी बेल्टको हरिपूर्वा, वसन्तपुर, चन्द्रनगर, बबरगन्जलगायत क्षेत्रका किसानले पप्पसेट चलाएर धान रोपिरहेका छन् । तर चुरेभेगमा पप्पसेट नै चल्दैन ।

अघिल्ला वर्षहरुमा प्रायः चुरेभेगमा बारम्बार पानी पर्ने गरेकोमा यो वर्ष चुरेभेगकै किसान पानी नपर्दा अप्ठेरोमा परिरहेका छन् । हरिवन, मलंगवासहित जिल्लाको मध्यभागमा हिजो एक झर राम्रैसँग पानी परेको थियो । बलरा, रामनगर, बरहथवा, धनकौलसहित पश्चिमी बेल्टमा पनि पानी पर्न नसकेर किसानको बिजोक नै रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

यो बेला धानमा हरियो फिरेर मलखाद गर्ने बेला भएपनि पानी नपर्दा खेतका फाँट सुक्खा भई बाँझै रहेका छन् ।

यसैबीच, सर्लाहीको मौसम आज पनि धाम्मधुम्म भइरहेको छ । छिनछिनमै बादल लाग्ने र हट्ने भइरहेको हो । पानी पर्न नसकेर निरन्तर गर्मी भइरहँदा यहाँको जनजीवन प्रभावित बनिरहेको छ ।