फाइल तस्बीर ।
लालबन्दी – सर्लाहीमा आज बिहानैदेखि सिमसिम पानी परिरहेको छ ।
एक सातादेखि अत्यधिक गर्मी रहेको सर्लाहीमा आज भने बिहान सबेरैदेखि मौसम बद्ली भएर हल्का वर्षा भइरहेको हो । पूर्व–पश्चिम राजमार्ग क्षेत्रको लालबन्दी, नवलपुर, हरिवनलगायत आसपासका ठाउँमा बिहान एक झर राम्रैसँग वर्षा भएको छ ।
जिल्ला सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा पनि सिमसिम पानी परेको स्थानीयले बताएका छन् । जिल्लामा किसानको प्रतिक्षा अनुसार ठूलो पानी पर्न सकेको छैन् । एक पटक खेतमा जम्ने गरी पानी परे यहाँका अधिकांश किसानले रोपाइँ सक्ने तयारी गरेका छन् ।
यो पानीले लालबन्दीसहित आसपासका क्षेत्रमा रोपिसकेको रोपोलाई फाइदा पुर्याएको छ । तर, अन्य क्षेत्रमा भने केहीबेर फाट्टफुट्ट मात्रै भएको वर्षाले खासै फाइदा नगरेको गुनासो किसानले गरेका छन् ।
यहाँको मौसम थप पानी पर्लाजस्तो भई धुम्म नै भइरहेको छ । मौसममा बदली आई हल्का वर्षा हुँदा सर्लाही र आसपासका क्षेत्रमा गर्मी कम भएको छ । मौसम धुम्म भई चिसो हावा बहेकाले गर्मीबाट राहत मिलेको स्थानीयले बताएका छन् ।