लालबन्दी – सर्लाहीमा आज पनि पानी पर्लाजस्तो भई त्यसै टरेको छ ।
यहाँ विगत ४ दिनदेखि असाध्य गर्मी छ । गर्मी धेरै भई बेलाबेलामा पानी पर्ला जस्तो भएर मौसम धुम्मिने गरेको भएपनि वर्षा हुनै नसरी त्यसै टर्ने गर्छ ।
आज दिउँसोपख एक्कासी मौसम अँधेरो भई पानी पर्लाजस्तो भएको थियोे । तर, पानी नपरी टरेपछि आम सर्वसाधारण तथा किसान निराश बनेका छन् । पानी नपर्दा यो वर्ष सर्लाहीमा धेरै किसानले रोपाइँ गर्नै बाँकी छ । खेतका फाँट बाँझै देखिन्छन् । यसअघि परेको पानीमा धान रोपेका किसान पनि अहिले पानी पर्न रोकिएर खेत सुकेपछि निराश बनेका छन् ।
वर्षाले साथ नदिँदा यो वर्ष मकै उत्पादन समेत राम्रो हुन सकेन् । अहिले सुत्ला च्याप्न लागेको मकैलाई पनि पानीको खाँचो रहेको किसान बताउँछन् । तर, दिनँहु खडेरी गएर चर्को घाम लागी सुक्खा बढिरहेको छ । नहर तथा कुलाको पानी लाग्ने र पप्पसेट चल्ने क्षेत्रमा भने फाट्टफुट्ट रोपाइँ जारी छ ।
चर्को घाम र उच्च गर्मीका कारण किसान तथा कामदारलाई खेतको काम गर्न पनि असाध्य गाह्रो छ । गर्मीले घरमै बसेर दिनचर्या काट्न समेत गाह्रो पर्ने अवस्था छ ।