logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिवन नगरपालिकाले ल्यायो ६२ करोड बढीको बजेट


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६२ करोड बढीको बजेट ल्याएको छ ।

बुधबार प्रारम्भ भएको सातौं नगरसभामा नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले ६२ करोड ९१ लाख ४७ हजार रुपियाँ बराबरको अनुमानित बजेट पेश गरेका हुन् । सङ्घीय सरकारबाट समानिकरण, सशर्त, समपुरक र विशेष अनुदान गरी ४० करोडसहित राजस्व बाँडफाँडबाट १० करोड ९३ लाख ७६ हजार, घरजग्गा रजिष्टे«सन शुल्क तीन करोड, प्रदेश सरकारबाट प्राप्त सवारी साधन कर एक करोड, प्रदेश समानिकरण अनुदान ९६ लाख ९८ हजार, प्रदेश समपुरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, आन्तरिक श्रोत चार करोड ५० लाख ७३ हजार र नगर विकास कोष ऋण अनुदान दुई करोड प्राप्त हुने अनुमान गरिएको छ ।

स्थानीय तहले असार १० गतेभित्र आ–आफ्नो गाउँ तथा नगर सभामा बजेट पेस गरी १५ दिनभित्र पारित गर्नुेपर्ने व्यवस्था रहेकोमा हरिवन नगरपालिकामा भने फरक दलबाट निर्वाचित जनप्रतिनिधिबीचको विवादले १० दिन ढिलो गरी नगर सभा प्रारम्भ गरी नीति तथा कार्यक्रम र बजेट ल्याइएको छ । हरिवनमा नेकपा माओवादी केन्द्रबाट नगरप्रमुख बुढाथोकी एक्लै विजयी भएका छन् ।

उनी र नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षबीच विवाद चल्दै आइरहेको छ । आन्तरिक कलहले बजेट नै प्रस्तुत नहुने अवस्था आएपछि तत्काललाई राजनीतिक सहमति जुटाइ नगरसभा प्रारम्भ गरिएको हो ।

सर्लाही क्षेत्र नं. ३ का सङ्घीय सांसद तथा पूर्वमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित नगरसभाको उद्घाटन समारोहमा मधेश प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहा, निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, उपमेयर हरिमाया घलान, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलगायतले मन्तव्य राखे । सर्लाहीमा २० वटा पालिकामध्ये अब हरिपूर्वा नगरपालिकाले मात्रै नगरसभा गर्न बाँकी छ ।

हरिपूर्वामा करिव तीन महिनादेखि नगरपालिका कार्यालयमा लगाइएको तालाबन्दी केही दिनअघि मात्रै खुलेको छ ।