logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राष्ट्रिय खेलाडी उत्पादन गर्न ईश्वरपुरमा ग्रासरुट फुटबल प्रशिक्षण (तस्बिरहरु)


  • उज्यालो अभियान

बयलवास – राष्ट्रिय खेलाडी उत्पादन गर्ने मुख्य उदेश्यसहित सर्लाहीको ईश्वरपुर नगरपालिकाले ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम गरिएको छ ।

नगरभित्रका करिव सात हजार बालबालिकालाई फुटबल प्रशिक्षण दिइने नगरप्रमुख मनोजकुमार आचार्यले बताए । उनका अनुसार नगरपालिकाले केही समयअघि नै फुटबल प्रशिक्षक नियुक्त गरेर प्रशिक्षण दिँदै आएकोमा शनिबार नारायण माध्यमक विद्यालय बयलवासमा औपचारिक कार्यक्रमका बीच ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको हो ।

नगरपालिकाले नियुक्त गरेको फुटबल प्रशिक्षक अर्जुन चौधरीले नगरभित्रका सातवटा माध्यमिक विद्यालयमा पुगेर निरन्तर रुपमा फुटबल प्रशिक्षण दिँदै आएका छन् । लागूऔषध सेवन गर्न सीमापारी भारतको सोनवर्षासम्म पुग्ने युवालाई यो फुटबल प्रशिक्षणले यहीँ रोक्न मद्धत गर्ने अपेक्षा गरिएको नगरप्रमुख आचार्यको भनाई छ ।

मेयर आचार्यले नगरका फुटबल प्रशिक्षक सातवटा माध्यमिक विद्यालयमा मात्रै प्रशिक्षण दिन पुगेपनि फुटबल खेल्न सक्ने उमेर भइसकेका छेउछाउका आधारभूत र प्राथमिक तहका विद्यालयका बालबालिकालाई पनि त्यही प्रशिक्षणमा सहभागी गराएर उनीहरुलाई समेत समेट्ने योजना रहेको सुनाए ।

यो प्रशिक्षणपछि विद्यार्थी अनुशासित, लागूऔषध दुव्र्यसनीबाट मुक्त र मानसिक तथा शारीरिक रुपमा सबल बन्ने फुटबल प्रशिक्षक अर्जुन चौधरीले बताए ।

शनिबार भएको कार्यक्रमका वक्ताहरुले राष्ट्रिय फुटबल टिमका रितिक खड्का, आदित्य चौधरीजस्ता खेलाडी उत्पादन गर्न सफल यस भूमीमा थप राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले ईश्वरपुर नगरपालिकाले जिल्लामै पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण दिन थालेको भन्दै खुसी व्यक्त गरेका छन् ।