logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आज सफा छ सर्लाहीको मौसम, ग्रामीण भेगमा हिजैदेखि बिजुली छैन


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको मौसम आज (शुक्रबार) बिहानैदेखि सफा छ ।

यस क्षेत्रमा हिजो अपरान्ह ठूलो हावाहुरीसहित पानी परेको थियो । आज भने बिहानैदेखि मौसम उघ्रिएर घाम लागिरहेको हो । हिजो परेको पानीले यस क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ ।

तत्कालका लागि धुलो–धुँवाको प्रकोप पनि कम भएको स्थानीयले बताएका छन् । हावाहुरीले भने जिल्लाभर जनधनको क्षति गरेको छ ।

जिल्लाको दक्षिणी भेगस्थित ब्रह्मपुरी गाउँपालिकामा हावाहुरीले घर भत्किएर किच्दा एक वृद्धाको ज्यान समेत गएको छ । सो गाउँपालिकाको वडा नं. २, बस्ने ६५ वर्षीया सावित्री देवी साहको आफ्नै कच्ची फुसको घरमा बसिरहेका बेला हावाहुरी आएर घर भत्काउँदा किचिएर मृत्यु भएको हो ।

हावाहुरीले ग्रामीण भेगमा दर्जनौं कच्ची घरका छानो तथा बेराघेरामा क्षति पुर्याएको स्थानीयले बताएका छन् । यस्तै, आँप, लिची, हरियो तरकारीलगायतमा हावाहुरीले क्षति पुर्याएको छ ।

हावाहुरीपछि जिल्लाको ग्रामीण भेगमा आज बिहानसम्म पनि विद्युत् अवरुद्ध छ । लालबन्दीसहित मुख्य बजार क्षेत्रमा हावाहुरी रोकिएको केहीबेरपछि गएसाँझ बाट नै बत्ती सूचारु भएपनि गाउँघरतिर भने हिजोदेखि नै बत्ती छैन् ।

स्थानीय रातभर अन्धकारमा बसेका छन् । बत्ती नहुँदा धेरै ठाउँमा मोवाइलको नेटवर्कमा पनि समस्या रहेको गुनासो आएको छ । नेपाल विद्युत् प्राधिकरणको लालबन्दी, मलंगवा र बरहथवा वितरण केन्द्रले पोल ढलेका तथा तार लत्रिएका ठाउँमा आज बिहानैदेखि प्राविधिक खटिएर काम गरिरहेका जनाएका छन् ।

यसैबीच, आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक÷ दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

विगत २४ घण्टामा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो भने गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी परेको थियो । गण्डकी प्रदेशका एक÷दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ । अन्य प्रदेशमा भने अहिले बिहानको मौसम आंशिकदेखि समान्य बदली छ । पानी परेको छैन ।

धेरैजसो ठाउँमा घाम लागेको छ । तर, दिउँसोको समयमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए । उनका अनुसार काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले दिउँसो पानी पर्ने मौसमविद्ले बताएका हुन् ।