logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कृषि प्रदर्शनी मेलाको झण्डै ४ हजार जनाद्वारा अवलोकन


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा आयोजित डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनीको झण्डै ४ हजार जनाले अवलोकन गरेका छन् ।

गएको मंगलबारदेखि बिहीबारसम्म ३ दिन संचालन भएको प्रदर्शनीको करिव ३५ सयदेखि ४ हजार जनाले स्थलगत अवलोकन गरेका आयोजकले दावी गरेको हो । प्रदर्शनीको बिहीबार दिउँसो एक समारोहका बीच समापन गरिएको हरिवन नगरपालिका कार्यालयले जनायो ।

मेयर रमेश बुढाथोकी (कमल) को अध्यक्षतामा मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. नम्रता सिंहको प्रमुख आतिथ्यतामा प्रदर्शनीको समापन गरिएको हो । ‘कृषि यान्त्रिकरणको वृद्धि, दुग्धजन्य एवम् कृषि उत्पादनमा नविन्तम प्रविधि’ भन्ने मूल नाराका साथ हरिवन नगरपालिका र दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा आयोजित ३ दिने प्रदर्शनी मेलाको समापन गरिएको हो ।

समापनको अवसरमा प्रदर्शनीमा आई स्टल राख्ने किसान तथा अन्य क्षेत्रका उत्पादक, हरिवस्थित उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, सहकारी सन्जाल, आयोजक कमिटी, स्वयंसेवकलगायतलाई सम्मान समेत गरिएको कार्यक्रम संचालक तथा हरिवन नगरपालिका २ का वडाध्यक्ष अर्जुनकुमार योन्जनले जानकारी दिए । प्रदर्शनीको मधेश प्रदेशका विभिन्न जिल्लाका किसानसहित कृषि तथा दुधजन्य उत्पादनसँग सरोकार राख्ने व्यक्ति, विभिन्न पालिकाका जनप्रतिनिधि नेतृत्वको टोलीलगायतले अवलोकन गरेको हरिवन नगरपालिकाले जनाएको छ ।

किसानलाई प्रविधिसँग जोडेर कृषि उपज तथा दुधजन्य पदार्थको उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रदर्शनी गरिएको हरिवन नगरपालिका सहकारी फाँटका प्रमुख तथा सूचना प्रविधि अधिकृत दीपेन्द्र कुमार उप्रेतीले बताए ।