logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा दलीत ऐन कार्यान्वयन समबन्धी सर्वपक्षिय अन्तरक्रिया


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा मंगलबार दलित सशक्तिकरण ऐन २०७६ को स्थानीय स्तरमा कार्यान्वयनको अबस्था र चूनौतीको विषयमा नीतिगत अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

साउथ एशिया पार्टनरशीप नेपाल (साप नेपाल) द्वारा सञ्चालित मुसहर महिला सशक्तिकरण परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय सभा सदस्य, संघीय सांसद, प्रदेश साँसद,प्रमुख जिल्ला अधिकारी सहित स्थानीय निकायका जनप्रतिनिधि, जातीय उत्थानका लागि सक्रिय संघसंस्थाका प्रमुख र सीमान्तकृत मुसहर समुदायका महिलाहरुलाई एकैठाउँमा राखेर ऐेन कार्यान्वयनका विषयमा छलफल गरिएको साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिए ।

कार्यक्रमलाई सहजीकरण गर्दै दलीत अगुवा तथा मानव अधिकारकर्मी राजु पासवानले दलीत सशक्तिकरण ऐन कार्यान्वयनको अबस्था कमजोर रहेको बताए । दलीत समुदायमा हुने विभेद र हिंसाको घटनामा कमी आउन नसकेको भन्दै उनले दलीतहरु खुलेर न्यायिक प्रक्रियामा आउन नसकेका बताए ।

दलीत अगुवा पचुलाल माझीले नेपालको संविधान र दलीत सशक्तिकरण ऐन २०७६ कार्यान्वयनको अबस्था र चूनौतिको विययमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दलीत समुदायको अधिकारका लागि संविधानमा पर्याप्त व्यवस्था रहेको भन्दै त्यसको कार्यान्वयनको लागि इच्छाशक्ति र पहलकदमी आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले दलीत समुदायमा अथाह समस्या रहेको भन्दै व्यवस्था परिवर्तन भएजस्तै दलीत समुदायको अबस्था परिवर्तनका लागि मनैदेखि काम गर्नु पर्ने उनले बताए ।

जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद सकुन्तीदेवी राम, प्रदेश सांसद बेची लुङ्गेली, प्रदेश सांसद उपेन्द्र महतो , दलीत विकास समितिका सदस्य रामप्रवेश बैठा, चन्द्रनगर गाँउपालिकाका अध्यक्ष राजकुमार  महतो, ओरेक नेपालकी जिल्ला संयोजक देबकुमारी महरा, समुदायको तर्फबाट उर्मिला माझी, लक्ष्मी पासवान, सन्जावतिदेबी माझी, मनमादेवी माझी, पतिदेवी माझी लगायतले मन्तव्य राखेका छन् ।