हरिपुर – नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ सर्लाहीको नयाँ नेतृत्व चयनका लागि आज मतदान सम्पन्न भएको छ ।
नवौँ जिल्ला अधिवेशन अन्तर्गत संघको नयाँ नेतृत्व चयन गर्न आज हरिपुरस्थित महावीर जनता बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो । मतदानमा नेपाल शिक्षक संघमा आवद्ध १६ सय १२ जना शिक्षकमध्ये १३ सय ७५ जनाले मतदान गरेका छन् ।
मतदान शान्तिपूर्ण बनेको छ । निर्वाचन समितिले राति ९ बजेपछि मतगणना सुरु गर्ने तयारी गरेको छ । अन्तिम मतपरिणाम राति नै सार्वजनिक भइसक्ने बताइएको छ ।
शिक्षक संघको नेतृत्व लिन कांग्रेसको संस्थापन र संस्थापन इतर पक्षले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएको छ । संस्थापन पक्षबाट प्रवीणकुमार पासवान र संस्थापन इतरबाट गणेशप्रसाद उप्रेतीको नेतृत्वमा उम्मेदवारी परेको छ ।
कांग्रेसको संस्थापन र इतर दुई गुटले शिक्षकको यो चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् ।