logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

रमजान मनाइरहेका २ सय मुस्लिम परिवारलाई खाद्यान्न सहयोग


  • उज्यालो अभियान

फरहदवा – सर्लाहीको फरहदवा, मोहनपुर र पोखरियामा मंगलबार २ सय मुस्लिम परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरिएको छ ।

एक महिने लामो रमजान पर्वको व्रत बसिरहेका मुस्लिम समुदायलाई हेल्पिङ ह्याण्डको सहयोगमा स्थानीय समाज विकास केन्द्र हजारविघाले सहकार्य गरी राहत प्रदान गरेको हो । रमजानमा दिनभर व्रस्त बस्ने र रात परेपछि खाना खाने गरिए पनि कतिपय विपन्न तथा गरिब परिवारमा खानेकुरा नै नरहेको हुँदा व्रतको अवधिमा खाद्यान्नको समस्या नहोस् भनी यस प्रकारको सहयोग गरिएको स्थानीय समाज विकास केन्द्र हजारविघाका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।

उनका अनुसार पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी, मधेश प्रदेश सभाकी सदस्य विमला अन्सारी र स्थानीय समाज विकास केन्द्रकी कोषाध्यक्ष रेवतीकुमारी न्यौपानेको आतिथ्यतामा रमजान मनाइरहेका हरिपुर नगरपालिकास्थित फरहदवा तथा चन्द्रनगर गाउँपालिकामा पर्ने मोहनपुर र पोखरियाका मुस्लिम समुदायलाई खाद्यान्न सहयोग गरिएको हो । प्रतिपरिवार २५ केजी चामल, २ केजी चना, २ केजी चिनी, आधा केजी खजुर, २ केजी चिउरा, २ केजी मुसुरोको दाल, २ लिटर तेल र एक प्याकेट नुन प्रदान गरिएको थापाले बताए ।

हेल्पिङ ह्याण्डकै सहयोगमा गत फागुनमा हरिपुरका पाँचवटा मदरसालाई पौने दुई लाख दरका पाँच थान ट्याङकी प्रदान गरिएको थियो ।