logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जनज्योतिका नवनिर्वाचित स्ववियु पदाधिकारी र सदस्यले लिए शपथ


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारी र सदस्यहरुले शुक्रबार शपथ ग्रहण गरेका छन् ।

चैत ५ गते भएको निर्वाचनबाट चुनिएका स्ववियु पदाधिकारी र सदस्यहरुलाई शुक्रबार बिहान क्याम्पसमा एक कार्यक्रमका बीच क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीले शपथ खुवाएका हुन् । चुनावमा प्रत्यक्षबाट निर्वाचित स्ववियु सभापति अभिमन्यु चौधरी, सचिव अनिताकुमारी बुढाथोकी, कोषाध्यक्ष एलोज खड्कासहित सदस्यहरु रोहितकुमार कार्की, अंशु पोखरेल, निर्मल अधिकारी (सफल), विवेक कुमार दास, अनिस खड्का र प्रज्वल माझीले शपथ ग्रहण गरेका छन् ।

प्रत्यक्षबाट निर्वाचित ३ पदाधिकारी र ६ जना सदस्य सबै नेविसंघ नेतृत्वको संयुक्त प्यानलका हुन् । यस्तै, समानुपातिक मतका आधारमा अनेरास्ववियुबाट सदस्यमा चयन भएका मोहन पाख्रिन लामा र सजिना वाइवा तथा नेविसंघबाट सदस्यमा छानिएका इरसाद मिकरानी, तेजबिक्रम थापा, नितेशकुमार पन्त र अमन अधिकारीले पनि शपथ लिएका छन् ।

नवनिर्वाचित स्ववियु कार्य समितिको पहिलो बैठकले समानुपातिकबाट छानिएका ६ जना सदस्यमध्येबाट एक जनालाई उप–सभापति र एक जनालाई सह–सचिवमा मनोनयन गर्ने छ । स्ववियुका नवनिर्वाचित पदाधिकारी र सदस्यको प्रमाण पत्र वितरण, शपथ ग्रहण र पदस्थापन कार्यक्रम शुक्रबार एकैसाथ सम्पन्न गरिएको निर्वाचन अधिकृत धर्मेन्द्र अधिकारीले जानकारी दिए ।

लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख उमेश तिमल्सिना, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख शान्तराम कार्की, विभिन्न दलका प्रतिनिधि, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, क्याम्पसका प्राध्यापक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।