लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १० र ११ का ५० जना किसानलाई आइपिएम तालिम प्रदान गरिएको छ ।
बढ्दो रासायनिक विषादीको प्रयोग घटाई जैविक विषादीको प्रयोग बढाउने उद्देश्यले वडा नं. १० का २५ जना र वडा नं. ११ का २५ जना तरकारी खेती गर्ने किसानलाई सहभागी गराई आइपिएम तालिम प्रदान गरिएको हो । किसानलाई १६ हप्तासम्म जैविक विषादी के–कसरी उत्पादन गर्ने ? भनी सिकाइएको लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले जानकारी दिए ।
लालबन्दी नगरपालिकाभित्रका किसानले पछिल्लो समय तरकारीमा अत्यधिक रासायनिक विषादी प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको कुरालाई मध्यनजर गरी आइपिएम तालिम प्रदान गरिएको कृषि शाखाका प्रमुख पाँैडेलले बताए । उनका अनुसार लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा लालबन्दी १० को वडा कार्यालयमा आयोजित तालिम समापन समारोहमा संविधान सभाका सदस्य प्रकाश पाख्रिन, लालबन्दी १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
किसानलाई १६ हप्तासम्म दुर्गाबहादुर खड्काले जैविक विषादी र गड्यौला मल तयार पार्न सिकाउनुभएको लालबन्दी नगरपालिकाको कृषि शाखाले जनाएको छ ।