गम्हरिया – सर्लाहीको मलंगवा नगरपालिका–१२, गम्हरियामा मंगलबारबाट अन्तरप्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
मलंगवा नगरपालिका र वडा कार्यालयसँग सहयोग लिएर माइस्थान युवा क्लब गम्हरियाले झण्डामेला लागिरहेको स्थलमा भलिबल खेल आयोजना गरेको हो । प्रतियोगितामा मंगलबार महोत्तरीलाई पराजित गरी सर्लाहीले विजयी सुरुवात गरेको छ ।
वेष्ट फाइभको खेलमा महोत्तरीलाई ३–१ को सेटमा पराजित गरी सर्लाही विजयी भएको हो । प्रतियोगितामा ९ वटा टिमको सहभागिता छ ।
बुधबारको खेलमा धनुषा र महोत्तरी, मकवानपुर र झापा तथा एपीएफ काठमाण्डौँ र बाराले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । चैत ३ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख २० हजार र उपबिजेताले ६५ हजार नगद पुरस्कार हात पार्ने छन् ।
प्रतियोगिताको मंगलबार मलंगवा १२ का वडाध्यक्ष रामदरेश राय यादवको अध्यक्षता तथा प्रदेशसभा सदस्य कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा मलंगवाका मेयर नागेन्द्रप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमलगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा भलिबलका पूर्व राष्ट्रिय खेलाडी रामानन्द सिंह थारु प्रमुख रेफ्री, रामकृष्ण चौधरी सहायक रेफ्री तथा अमित चौधरी र पवन चौधरी लायन्स म्यान रहेका प्रतियोगितामा अतिथिका रुपमा सहभागी हरिपुर नगरपालिका–७ चितायनका वडाध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिए ।