logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चितायनमा आयोजित भलिबल प्रतियोगिताको उपाधि बाराले जित्यो


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनमा आयोजित अन्तर प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि बाराले जिल्लाले हात पारेको छ ।

बुधबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा झापा जिल्लालाई ३–१ को सेटमा पराजित गर्दै बारा बिजेता बनेको हो । जितसँगै बाराले ८० हजार रुपैयाँ नगदसहित ट्रफी उचालेको छ ।

उपबिजेता झापा भने ५० हजार रुपैयाँमा चित्त बझुाउन बाध्य भयो । प्रतियोगितामा सर्वोत्कृष्ट हुने बाराका विजय थापासहित विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको कार्यक्रम संचालक चेतनारायण धामीले जानकारी दिए ।

बिजेता तथा उपबिजेता र उत्कृष्ट खेलाडीलाई आयोजक लक्ष्मीनाथ युवा क्लबका अध्यक्ष नरहरि धामी, प्रदेशसभा सदस्य बेची लुंगेली, हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियार, उपमेयर निलमदेवी राय यादव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, हरिपुर नगरपालिका ७ का वडाध्यक्ष मनोजकुमार चौधरी, नेकपा एकीकृत समाजवादी पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, राष्ट्रिय भलिबल टिमका पूर्व खेलाडी भरतबहादुर साह, समाजसेवी सुनिल बस्नेत, इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विजय कुँवरलगायत भएर पुरस्कार वितरण गरेका छन् ।

लक्ष्मीनाथ युवा क्लब चितायनको आयोजना तथा हरिपुर नगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा सर्लाही, बारा, झापा, सिन्धुली, मकवानपुर, महोत्तरी, धनुषा, सशस्त्र प्रहरीको २ नम्वर बाहिनी बर्दिवास र मेघरौल महोत्तरीसहित नौवटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापनकै अवसरमा बुधबार नै ईश्वरपुर नगरपालिका–३, भक्तिपुर निवासी समाजसेवी सुनिल बस्नेतले जिल्ला भलिबल संघका सर्लाहीका लागि संघका अध्यक्ष रामानन्द सिंह थारुलाई १० थान जर्सी प्रदान गरेका छन् ।